गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने आठ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरुलाई मासु उत्पादनका आधारमा रु २५ लाख अनुदान वितरण गरिएको हो ।
चालु आर्थिक वर्षको उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत पालिकाभित्र मासु उत्पादन गर्ने पशुपालक किसानलाई उत्पादनका आधार अनुदान वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । पशुपालक किसानलाई गाउँपालिकाले राँगाको प्रतिकिलो रु १५ तथा खसी, बोका र थुमाको प्रतिकिलो रु ३० अनुदान उपलब्ध गराएको छ । चालु आवमा दुई हजार तीन सय ७९ बोका, खसी र थुमाको तौल लिएर अनुदान रकम वितरण गरिएको अध्यक्ष भट्टले बताउनुभयो । यसबाहेक एक सय २१ राँगाको पनि तौल लिएर किसानलाई अनुदान उपलब्ध गराइएको छ ।
गाउँपालिकाले सम्बन्धित वडाका पशुसेवा प्राविधिकको निगरानीमा किसानको घरघरमा पुगेर राँगा तथा खसी, बोका र थुमाको तौल लिइएको थियो । गाउँपालिकालाई मासुमा आत्मानिर्भर बनाउन र कृषकलाई मासु उत्पादनमा जोड दिने उद्देश्यले गाउँपालिकाले उत्पादन गरेको आधारमा अनुदान वितरण गरेको अध्यक्ष भट्ट बताउनुहुन्छ ।
“किसानले पालेर बिक्रीका लागि योग्य भएका राँगा, खसी, बोका र थुमाको तौल मापन गरी अनुदान उपलब्ध गराइएको हो”, उहाँले भन्नुभयो, “पशुपालक किसानलाई उत्पादनतर्फ आकर्षित गर्न तथा पालिकाभित्र मासु र मासुजन्य उत्पादन बढाउने योजनाअन्तर्गत कार्यक्रम अघि बढाइएको हो ।” कार्यक्रमबाट गाउँपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउन मद्दत पुग्ने उहाँको विश्वास छ ।