पोखरा-पोखराको मदरल्याण्ड विद्यालयले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लाई नगदसहित सम्मान गरेको छ । भण्डारीलाई मदरल्याण्ड माविले नगद रु २५ हजारसहित सम्मान गरेको हो । उहाँलाई पश्चिम पृतना हेडक्वार्टर विजयपुरका पृतनापति दीपककुमार बानियाँ, विद्यालयका निर्देशक डा त्रिभुवन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले सम्मान गर्नुभएको थियो ।
सावित्रा भण्डारी २६ वर्षअघि लमजुङमा जन्मनुभएको हो । विसं २०७० देखि फुटबल खेल्न सुरु गर्नुभएकी उहाँले सोही वर्ष राष्ट्रिय टिममा ‘डेब्यु’ गर्नुभयो । सन् २०१४ मा भएको साफ च्याम्पियनसीपमा उहाँ देशको प्रतिनिधित्व गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुभयो । हालसम्म उहाँले देशको प्रतिनिधत्व गर्दै एक दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसक्नुभएको छ । यही योगदानस्वरुप विद्यालयले सम्मान गरेको विद्यालयका प्रिन्सिपल बरालले बताउनुभयो ।
सम्मान ग्रहणपछि भण्डारीले असम्भव केही नभएकाले भविष्यको सम्भावना आफैँले खोज्नुपर्ने बताउनुभयो । विद्यालयले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै आफू खेलकुदमा लागि रहने उहाँको भनाइ थियो ।