गल्याङ-स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारस्थित सिद्धार्थ राजमार्गको छेउमा चिटिक्क परेको काठको छाप्रो छ । छाप्रो अगाडि माटोको चुलोमा धुँवा उडिरहेको छ । ३९ वर्षीया जमुना रुचाल चर्को घाममा पनि पसिना चुहाउँदै मकै पोल्न व्यस्त हुनुहुन्छ । उहाँ बिहानै भालेको डाँकोसँगै उठ्नुहुन्छ र सरसफाइको काम भ्याउनुहुन्छ । मोही पार्नुहुन्छ र टिमुर, पुदिना, गोलभेडा, नून तथा हरियो खुर्सिनी राखेर अचार बनाउनुहुन्छ । यसरी तयार पारेको सामान झोलामा बोक्दै रुचाल घरदेखि केही तलको मकै पोल्ने ठाउँमा झर्नुहुन्छ ।
“मकै पोलेर बिक्री गर्न थालेको पाँच वर्ष भयो, यसकै आम्दानीले गुजारा चलाएकी छु”, दाउरा आगोमा ठोस्दै उहाँले भन्नुभयो, “सुन्तलाको याममा सुन्तला बेच्छु, हरिया मकै बेमौसमी पनि पाइने भएकाले अहिले मकै पोलेर बेचिरहेकी छु ।” यही काम पनि सजिलोसँग गर्न नपाइएको उहाँको गुनासो छ ।
औँलाले देखाउँदै उहाँले भन्नुभयो, “काठको खामो गाडेर छाप्रो बनाएकी थिएँ, काठकै टेबुल र बेन्च पनि थियो, छाप्रो भत्काइदिन थाले । टेबुल पनि चोरी हुन थाल्यो । अहिले भने बेन्च फलामको बनाउन लगाएर राखेकी छु ।”
दैनिक ४०–५० वटासम्म पोलेको मकै बिक्री हुन थालेको रुचालले बताउनुभयो । “दैनिक रु दुई हजारदेखि रु दुई हजार पाँच सयसम्म कमाइ हुन्छ”, उहाँले भन्नुभयो रुचालले मोहीसमेत बिक्री गर्नुहुन्छ । सबै गरेर महिनामा रु एक लाख ५० हजारसम्म कारोबार हुने गरेको रुचालले बताउनुभयो ।
गल्याङ नगरपालिका–६, पिँडिखोलाका शेरबहादुर थापा प्रायःजसो पोलेको मकै, मोही र चटनी खान यहाँ आउने गर्नुहुन्छ । स्वदेशमा रोजगार भएन भन्नेहरुलाई रुचालको कामले केही गर्न प्रेरणा मिलेको उहाँको भनाइ छ ।
रुचालको छाप्रोभन्दा केही पर अर्को छाप्रोमा सविता गैरे पनि मकै पोल्नमै व्यस्त हुनुहुन्छ । “दैनिक २५–३० जती मकै बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “मकै पोलेर खुवाउँदा फुर्सदै हुन्न, यही पेसाले हाम्रो घरखर्च धान्न सहज भएको छ ।”
सविताकी सासू केशरी पनि मकै पाल्नमै व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सासू–बुहारीले मकै बेचेर कमाएको पैसोले घरखर्च धानिएको छ ।” यहाँ सुन्तलाको याममा पनि यस्तै चटारो हुन्छ । मकै खरिद गर्न पोखरा, चितवनलगायत ठाउँबाट व्यापारी मायाटारी आउने गरेका छन् । यहाँ पोलेको मकै प्रति घोगा रु ५० र मोही प्रति गिलास रु २० मा बिक्री हुने गरेको छ ।