बागमती नदीमा मौलिकता झल्कने पुल निर्माण गरिने — OSNepal

बागमती नदीमा मौलिकता झल्कने पुल निर्माण गरिने

LC (KTM) May 23, 2023 0

काठमाडौँ- थापाथलीस्थित पुलको विकल्पका रुपमा बागमती नदीमा त्यसको नजिकै काठमाडौँ र ललितपुर जिल्ला जोड्ने पुल निर्माण गरिने भएको छ । थापाथलीस्थित प्रसूति गृह पछाडिबाट ललितपुरको ज्वागल जोड्ने पुल बनाउन अध्ययन अघि बढाउन लागिएको हो । ललितपुर र काठमाडौँ दुवै जिल्लाको मौलिकता समेट्ने गरी सुन्दर पुल निर्माणको योजना अघि बढाइएको सडक विभाग पुल महाशाखाले जनाएको छ ।

सो पुलको आगामी आवमा अध्ययन हुने पुल महाशाखा प्रमुख नरेशमान शाक्यले बताउनुभयो । उहाँका अनुसार सकेसम्म पुलले त्यस क्षेत्रको परिचय दिने गरी मौलिक खालको ‘सिग्नेचर’ पुल बनाउन लागिएको हो । उहाँले भन्नुभयो, “सकेसम्म त्यस क्षेत्रको नौलो परिचय होस् भन्ने गरी निर्माण गर्ने योजना रहेको छ ।”

आधुनिक पुल निर्माण गर्न लागिएकाले त्यो ‘एडभान्स’ र अलि ‘हाइफाइ’ हुने प्रमुख शाक्यले बताउनुभयो । त्यसलाई हेर्दा नौलो र हावापानी अनुकूलको बनाउन लागिएको छ । उहाँले भन्नुभयो, “बाढी पहिरोमा बढी थाम्न सक्ने किसिमको हुनेछ ।”

अब निर्माण हुने पुलले सामाजिक समावेशीकरणलाई समेत ध्यान दिने उहाँको भनाइ छ । शारीरिकरुपमा अशक्तलाई समेत ध्यान दिएर लिफ्ट वा ¥याम्प राख्दा कसरी बनाउन सकिन्छ भन्ने विषयलाई ध्यान दिने उहाँले बताउनुभयो । पुल हेर्दा आकर्षक, मौलिक र नौलो बनाउन कलाको पनि प्रयोग गरिने प्रमुख शाक्यले बताउनुभयो । पुलको टुप्पेमा घर वा मन्दिर बनाउने कि धार्मिक वा अरु स्थानीय झलक दिने भनी प्रयास गरिने भएको छ ।

अहिले बागमती पुलमा सवारी चाप बढिरहेकाले त्यसको विकल्पका रुपमा त्यस आसपासको क्षेत्रमा नयाँ पुल निर्माणको आवश्यकता महसुस गरिएको हो । बुद्धनगरमा काठमाडौँ ललितपुर जोड्ने पुल सञ्चालनमा भए पनि त्यसको अवस्था पनि थप सवारीसाधन थेग्न नसक्ने रहेको छ । बिहान र साँझ दुवै पुलमा सवारी चाप उच्च रहेकाले त्यसलाई कम गर्नका लागि पनि त्यसको विकल्पमा अर्काे पुल बनाउने योजना बनाइएको हो ।

पहिले पुल निर्माण एउटा गाउँ, जिल्ला, सहरलाई अर्काेसँग जोड्ने पूर्वाधार भए पनि पछिल्लो समय यसलाई कुनै पनि ठाउँको सुन्दरता बढाउन सक्ने माध्यमसमेत मानिएको छ । विश्वका कतिपय ठाउँमा पुलकै कारण त्यस ठाउँ परिचित बनेको छ । नेपालमा पनि त्यस्तै नौलो र आधुनिक प्रविधिप्रति सडक विभागले चासो बढाएको पाइन्छ । केही वर्ष पहिले सम्पन्न बिजुलीबजार पुलले त्यस क्षेत्रको सुन्दरता बढाएको छ । सरकारले उपत्यका र उपत्यका बाहिर पनि ‘सिग्नेचर’ पुल निर्माणको योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर