देउवा सरकार एक महिनामै ढाल्ने-नढाल्ने माधव नेपालको हातमा ! — OSNepal

देउवा सरकार एक महिनामै ढाल्ने-नढाल्ने माधव नेपालको हातमा !

LC (KTM) July 16, 2021 0

काठमाडौँ – यति बेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव नेपालमा निर्भर बनेको छ। नेपाल पक्षका सांसदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ। एमालेभित्रकै आन्तरिक विवादले कुन मोड लिने हो भन्ने अलमलले पनि सरकारको स्थिरता अन्योलमा देखिएको छ। यसलाई राम्ररी बुझेका प्रधानमन्त्री देउवा बुधबार नेपाल निवासमै पुगेर विश्वासको मतका लागि आग्रह गरेका छन् । नेता नेपालले पनि विश्वासको मतका लागि सहयोग गर्ने आश्वासन दिएका छन्। तर उनीहरू दुईजनाको भेटघाटले एमाले अध्यक्ष केपी ओली झनै चिढिएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

बुधबारको भेटवार्तामा देउवा र नेपालबीच सरकारले विश्वासको मत नपाए संसद् पुनस्र्थापनाका लागि भएको लडाइँ पनि निरर्थक हुने विश्लेषण गरिएको थियो। हुन पनि नेपाल समूहले साथ दिएन भने देउवा सरकार एक महिनामै ढल्ने र प्रतिनिधिसभा फेरि विघटन भएर मुलुक मध्यावधि निर्वाचनमा जाने अवस्था आउँछ। त्यही भएर नेपालले संसद्लाई पूरा कार्यकाल टिकाउन आफ्नो साथ रहने आश्वासन देउवालाई दिएका छन्। नेपाल पक्षकै केही नेता भने देउवालाई विश्वासको मत दिनुअघि नै पार्टी विवादको छिनाफानो हुनुपर्ने बताउँछन्।

यसैबीच ओलीले नेपाललाई पार्टीभित्र कुनै स्थान नभएको बताएपछि एमाले एकता थप अन्योलमा परेको छ। ओलीको सो अभिव्यक्तिलगत्तै देउवा नेपालनिवास पुगेका थिए। त्यसक्रममा उनले नेपालसँग विश्वासको मत मागेका थिए। नेपालले आफू निकटका सांसदलाई राखेर देउवालाई आश्वस्त पारेका थिए। देउवापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि नेपाल निवास पुगेर सरकार टिकाउने विषयमा छलफल गरेका छन्। तर यी भेटघाट ओलीलाई मन परेका छैनन्। माओवादी अध्यक्ष दाहाल नेपाल निवासमा गएको विषयलाई त ओलीले पार्टी एकता खलबल्याउने प्रयासका रूपमा समेत चित्रण गरेका छन् ।

देउवाले चाँडै नै विश्वासको मत लिने तयारी गरेपछि एमाले संसदीय दलको नेतासमेत रहेका ओलीले संसदीय दलको बैठक बोलाएका छन्। ओलीले शुक्रबार ३ बजे बानेश्वरको लोत्से हलमा संसदीय दलको बैठक बोलाएका हुन्। नेपाल पक्षका नेताले त्यसलाई सार्न प्रस्ताव गरेका छन्। उनीहरूबीच संसदीय दलको बैठकमा जाने–नजानेबारे निर्णय नभए पनि विरोध खतिवडा, मेटमणि चौधरीलगायतका सांसदले नजाने बताएका छन्। नेपाल पक्षका तर्फबाट एमाले एकता कार्यदलमा रहेका सबै नेताले शुक्रबारको संसदीय दलको बैठक केही दिन सार्न प्रस्ताव गरेका छन्। नेपाल पक्षबाट कार्यदलमा रहेका नेताको छलफलपछि उनीहरूले ओलीसमक्ष संसदीय दलको बैठक सार्न प्रस्ताव गरेका हुन्।

एमाले स्थायी कमिटी सदस्य एवं कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङमार्फत ओलीलाई संसदीय दलको बैठक सार्न प्रस्ताव गरेको बताए। उनले पार्टी बचाउन दोस्रो पुस्ता सक्रिय हुनुपर्ने निष्कर्ष निकालेको पनि बताए। ‘पार्टी विवाद बढेको जस्तो आभास हुन्छ, हामी कार्यदलका केही साथीहरू बसेका थियौं, दोस्रो पुस्ताका साथीहरू सक्रिय हुनुपर्‍यो नत्र पार्टी खत्तम हुन्छ भन्ने हाम्रो निष्कर्ष हो’, पाण्डेले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर