नेपालबाट चोरेर अमेरिका पुर्याइएका मूर्ति फिर्ता ल्याइयो — OSNepal

नेपालबाट चोरेर अमेरिका पुर्याइएका मूर्ति फिर्ता ल्याइयो

LC (KTM) July 15, 2021 0

काठमाडौँ, ३१ असार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न समयमा नेपालबाट चोरी भई अमेरिका पु¥याइएका दुई मूर्ति र एक वटा टुँडाल नेपाल फिर्ता ल्याइएको जनाएको छ । नेपालबाट विभिन्न समयमा चोरी भएका करीब एक लाख २५ हजार डलर बराबरको दुई मूर्ति र एक टुँडाल फिर्ता ल्याउन सफल भएको मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मन्त्रालयका सचिव यादव कोइरालाले अन्तरराष्ट्रिय तस्करको सञ्जालमार्फत अमेरिकाको न्यूयोर्क पु¥याइ प्रदर्शनी तथा बिक्रीमा रहेका तीन साँस्कृतिक तथा ऐतिहासिक महत्व राख्ने नेपालका सम्पत्ति नेपाल फिर्ता ल्याइएको बताउनुभयो । उहाँले नेपालको सम्पदा फिर्ता ल्याउन पहल गर्ने सबैलाई धन्यावाद दिनुभयो । सचिव कोइरालाले नेपालका ऐतिहासिक महत्व बोकेका विभिन्न मूर्ति तथा कला अन्य देशमा पनि रहेको भन्दै त्यस्ता मूर्ति र कला फिर्ता गर्न आफूहरु निरन्तर लागिरहने बताउनुभयो ।

अमेरिकाबाट अप्सराको रङ्गीन आकृति कुँदिएको काठको टुँडाल, भूमिस्पर्श मुद्रामा बसेको बुद्धको सुनौलो मूर्ति र बसेको गणेशको मूर्ति फिर्ता ल्याइएको हो । पत्रकार सम्मेलनमा सचिव कोइरालाले फिर्ता गरिएका मूर्ति र टुँडाल पुरातत्व विभागका महानिर्देशक दामोदर गौतममार्फत राष्ट्रिय सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । नेपालले अहिलेसम्म विभिन्न समयमा चोरी भएका ६३ मूर्ति फिर्ता लिन सफल भएको मन्त्रालयले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर