मुम्बई । बलिउड अभिनेता शाहरुख खान ‘टाइगर ३’ को छायांकन सेट ‘ज्वाइन’ गरेका छन् । अभिनेता सलमान खान अभिनीत उक्त चलचित्रमा शाहरुखको महत्वपूर्ण केमियो भूमिका रहने जनाइएको छ ।
यो विशेष दृश्यका लागि महलको सेट मढ टापुमा बनाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ उच्चसुरक्षाको प्रबन्ध गरिएको छ । साथै छायांकन सेटबाट कुनै पनि कुरा लिक नहोस् भनेर कडाइसमेत गरिएको छ ।
शाहरुखको भागको छायांकन सात दिनसम्म चल्ने निर्माण पक्षले जनाएको छ ।
बलिउडका दुई चर्चित अभिनेता टाइगर ३ मा एक विशाल पम्पिङ एक्सन दृश्यको छायांकनमा जुटिरहेका छन् । यस दृश्यलाई आदित्य चोपडाले उत्कृष्ट बनाउन चाहेको जनाइएको छ । उनले यसका लागि ३५ करोड भारुको भव्य सेटको डिजाइनसमेत गरेका छन् ।सौर्य दैनिकमा खबर छ ।
भारतीय सञ्चार माध्यमका अनुसार मनिष शर्मा निर्देशित टाइगर ३ मा अभिनेत्री कटरिना कैफ जोयाको चरित्रमा प्रस्तुत हुँदैछन् भने इमरान हासमी जासुसीको भूमिकामा रहने छन् ।