तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुगेनन् ,२२० बैंक तथा वित्तीय संस्था मर्ज — OSNepal

तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुगेनन् ,२२० बैंक तथा वित्तीय संस्था मर्ज

LC (KTM) July 15, 2021 0

काठमाडौँ, ३१ असार – तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् ।

बैंकका अनुसार हालसम्म ७५० स्थानीय तहमा मात्रै बैंकिङ पहुँच पुगेको छ । कूल ७५३ स्थानीय तहमध्ये २०७८ जेठसम्म ७५० मा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । विसं २०७७ जेठसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए ।

वाणिज्य बैंक नपुगेका स्थानीय तहमा धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिका छन् । जेठ मसान्तमा हाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १३८ रहेको छ । त्यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् ।

२२० बैंक तथा वित्तीय संस्था मर्ज-बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७÷७८ को जेठसम्म २२० बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७८ जेठ मसान्तसम्म कूल यसमध्ये १६६ संस्थाको इजाजत खारेज हुन गई ५४ संस्था कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर