सामाजिक सुरक्षा भत्ताको ३९ लाख वडा सचिवको कोठाबाट चोरी,पैसा राखिएको दराज तोडफोड नभएको हुँदा घटना शङ्कास्पद — OSNepal

सामाजिक सुरक्षा भत्ताको ३९ लाख वडा सचिवको कोठाबाट चोरी,पैसा राखिएको दराज तोडफोड नभएको हुँदा घटना शङ्कास्पद

LC (KTM) July 15, 2021 0

बझाङ, ३१ असार- बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख मङ्गलबार राति चोरी भएको बताइएको छ । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आउनुभएको र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ । पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीयवासी खड्क बोहराले बताउनुभयो ।

वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको बताउनुभयो । उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ । करिब रु २१ लाख ९१ हजार वितरण गरिसकिएको र रु ३९ लाख वितरण गर्नका लागि राखिएको जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर