मनाङका विद्यालयमा पुस्तक पुर्याउनै सकस — OSNepal

मनाङका विद्यालयमा पुस्तक पुर्याउनै सकस

LC (KTM) May 06, 2023 0

मनाङ-हिमाली जिल्ला मनाङ विकट क्षेत्र भएकाले यहाँका बालबालिकालाई शिक्षा आर्जन गर्न सकस पर्ने गर्दछ । विस्तारै शिक्षाको पहुँच पुगेको मनाङका विकट स्थानमा पुस्तक पुग्नै समय लाग्छ । विद्यालयमा पुस्तक पु¥याउन पुस्तक पसलमार्फत टेण्डरमा ल्याउनुपर्ने भएकाले अझ पुस्तक ढिला गरी आउन थालेको छ । विद्यालयले ल्याउने गरेको अवस्थामा केही छिटो पुस्तक विद्यालय र विद्यार्थीको हातमा पुग्ने गरे पनि टेण्डरका कारण ढिला हुने गरेको अभिभावक बताउँछन् ।

पुस्तक ल्याउने डिपो जिल्लामा नहुँदा पनि अझ समस्या भएको अभिभावकको भनाइ छ । विद्यालयमा पुस्तक आउँदा विद्यालयले विद्यार्थीको हातमा छिटो आउने गरे पनि अहिले ढिला भएको उनीहरुको भनाइ छ । मनाङको नार्पाभूमि गाउँपालिकाका विद्यालयमा पाठ्यपुस्तक पु¥याउन सकस भएको छ ।

हाल मनाङमा मौसम प्रतिकूलताले गर्दा पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पु¥याउन सकस भएको फु आधारभूत विद्यालयका प्रधानाध्यापक मुखिया विकले जानकारी दिनुभयो । “मोटरेवलस्थलमार्ग नहुँदा खच्चडमार्फत पाठ्यपुस्तक ढुवानी हुन्छ, तर अहिले यहाँ मौसम प्रतिकूल छ, खच्चडमार्फत पाठ्यपुस्तक लैजाने क्रममा रुझ्ने र च्यातिने समस्या हुन्छ”, प्रधानाध्यापक विकले भन्नुभयो ।

प्लाष्टिकमै छोपेर लैजाँदासमेत खच्चडबाट लगिदा रुझ्ने र पुरानो पुस्तक विद्यार्थीलाई दिइएकोजस्तो पनि देखिने गरेको उहाँले बताउनुभयो । जिल्लामा नै ढिला गरी आएको पुस्तक विद्यार्थीको हात हातमा पु¥याउन अझ सकस हुने गरेको उहाँको भनाइ छ ।

मनाङका लागि पाठ्यपुस्तक लमजुङको सुन्दरबजार नगरपालिकास्थित भोटेओडारको सापकोटा पुस्तक पसलबाट ल्याउनुपर्ने हुन्छ । पब्लिकेशनले पाठ्यपुस्तक समयमा नै पु¥याएको दावी गर्दै आए पनि मनाङमा नै एक महिना ढिला गरी पुस्तक आइपुगेको छ । चैत महिनादेखि नै कक्षा सञ्चालन भएको मनाङका विद्यार्थीले एक महिना पाठ्यपुस्तक बिना नै अध्ययन गरिरहेका थिए ।

हाल जिल्लामा केही छिटफुट बाहेक अन्य पाठ्यपुस्तक आइसकेको लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले जानकारी दिनुभयो । “कक्षा सञ्चालन भएको एक महिना पछि मात्रै पाठ्यपुस्तक आएको छ, त्यही पनि पुरा भने आइसकेको छैन”, उहाँले भन्नुभयो ।

मनाङमा २८ मध्ये चार विद्यालयमा माध्यमिक तहसम्म अध्यापन हुन्छ । जसमा अन्नपूर्ण, भानु, लोकप्रिय र प्रकाशज्योति मावि छन् । लोकप्रिय र प्रकाशज्योति माविमा आवासीय पठनपाठनको व्यवस्थापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर