बैतडीमा पहिलोपटक १२ लाखको लागतमा शववाहनको व्यवस्था — OSNepal

बैतडीमा पहिलोपटक १२ लाखको लागतमा शववाहनको व्यवस्था

LC (KTM) July 15, 2021 0

बैतडी – यहाँ पहिलोपटक शववाहनको व्यवस्था गरिएको छ । जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा जिल्ला अस्पतालले शववाहन खरीद गरेको हो । समन्वय समितिको करीब साढे रु १२ लाखको लागतमा शववाहन ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जिल्ला अस्पातलले सञ्चालन गर्ने गरेर शववाहन खरीद गरी सञ्चालनमा ल्याइएको हो, शववाहन भएपछि विभिन्न कारणले मृत्यु भएकाको शव ओसार्न सहज हुनेछ ।” शववाहन नहुँदा नागरिकलाई सास्ती हुने गरेको थियो ।

जिल्लामा शववाहन नहुँदा परीक्षण गर्न तथा ओसार्न समस्या हुने गरेकामा अब सहज हुने डा जोशीको भनाइ छ । उहाँले भन्नुभयो, “जिल्ला अस्पतालमा मात्र नभएर जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तको मृत्यु हँुदा निजी सवारी साधनमा शव बोक्न नमान्दा समस्या भोग्नु परेकामा अब सहज हुनेछ ।”

जिल्लाका विभिन्न बस्तीमा सडक सञ्जाल पुगे पनि यहाँ सञ्चालन हुने सवारी साधनले शव बोक्न नमान्ने गरेकामा अब राहत हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सवारी साधनले शव बोक्न नमान्ने गरेका थिए, बोक्ने सवारी साधनले पनि चर्को मूल्य लिने गरेका थिए, अब चर्को मूल्य तिर्नुपर्ने बाध्यता हटेको छ ।” एकीकृत शववाहन सञ्चालन निर्देशिकाअनुसार शववाहन सञ्चालन गरिने अस्पतालले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर