मध्यपहाडी लोकमार्गको पर्वत खण्ड १९ घण्टापछि सञ्चालनमा — OSNepal

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड १९ घण्टापछि सञ्चालनमा

LC (KTM) July 14, 2021 0

पर्वत, ३० असार – मध्यपहाडी लोकमार्गअन्तर्गत यहाँको कुश्मा नगरपालिका–८ चुवास्थित चाइनाचोक नजिकैको पहिरो हटाइएको छ । मङ्गलबार राति ९ः०० बजेको समयमा सडकमाथिबाट पहिरो झरेर पुरिएको सडकमा रहेका ढुङ्गा फुटाएर पन्छाइएपछि १९ घण्टामा सडक सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।

“मङ्गलबार राति ९ः०० बजे पहिरो गएपछि रातिमा गुडेका सवारी पनि बाटोमै अलपत्र परेका थिए, बुधबार बिहानैबाट बाटो खुलाउन प्रयास गरिएकामा केहीबेरअघिबाट बाटो सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “यसपटकको वर्षाले मध्यपहाडी राजमार्गको पर्वत खण्डमा धेरै नै दुःख दियो, अवरुद्ध भएको छैटौँ मङ्गलबार साँझबाट खुलेको लोकमार्ग मङ्गलबार रातिबाटै अवरुद्ध भयो, वैकल्पिक सडक नहुँदा पनि समस्या भइरहेको छ ।”

मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लामा काम गरिरहेको लामा कन्स्ट्रक्सनले आज बिहानैबाट तीन एस्काभेटरको सहयोगमा सञ्चालन गराएको हो । अवरुद्ध बाटो सञ्चालन भएपछि पोखराबाट साविकको धौलागिरिका चार जिल्लाका लागि छुटेका तथा त्यहाँबाट बाहिरिन लागेका सवारी गन्तव्यतर्फ लागेका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर