कोरोना सङ्क्रमणको दर फेरि बढ्न थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ । मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप दुई हजार ९०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता प्रा डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । मङ्गलबार दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि थियो । यसैगरी सोमबार दुई हजार ३७० मा र आइतबार एक हजार ८३१ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
आठ हजार १०८ जनाको पिसीआर विधिबाट परीक्षण गर्दा दुई हजार १० जनामा सङ्क्रमण पुष्टि भएको हो । चार हजार ९१६ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८९५ जनामा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट निधन हुनेको सङ्ख्या नौ हजार ४३० पुगेको छ । यस अवधिमा एक हजार ६०६ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६४७ जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र दुई हजार ५४८ जना संस्थागत आइसोलेसनमा रहेको जनाइएको छ ।