काठमाडौँ ३० असार । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार ढाल्न आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपाल लागि परेको बताएका छन् । आज सरकारी निवास बालुवाटार छाडेर आफ्नै निवास बालकोट पुगेका ओलीले विकास गर्ने सरकार ढाल्ने नेपाल भएकाले उनलाई कुनै हकमा पनि क्षमा नहुने बताएका हुन् ।
आफुलाई बालुवाटारबाट बालकोट सम्म पुर्याउने आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले नेपाललाई कुनै हकमा पनि क्षमा नगर्ने बताउँदै अन्य काम गर्न चाहने नेताहरुलाई मात्र सहभागी गराउने भन्दै ओलीले भने, ‘पार्टीमा आएर काम गर्न चाहने नेताहरूलाई ठाउँ र अवसर दिन्छौँ, तर माधव नेपालको हकमा कुनै क्षमा हुँदैन, विकास गर्ने सरकार ढाल्ने उनै हुन् ।’
जनताको जनादेशबाट प्रधानमन्त्री भएको बताएका ओलीले भने,’चुनाव हारेर प्रधानमन्त्री बनेको होइन्, जालझेल गरेर प्रधानमन्त्री बनेको होइन, जनादेशबाट प्रधानमन्त्री भएको हो–जनादेशको मत हुँदै गर्दा विश्वमा कही नभएको प्रक्रिया अदालतको परमादेशबाट हटाइएको हो’ ।
नेपाल जस्तो लाज सरम हराएको नेता कोही छैन , झुटा आरोप र लाच्छना हाम्रै पार्टीभित्र घुसपैठ भएर आफ्नै सरकार ढाल्न काम कहिलेसम्म होला र ?’ भन्दै नेपाललाई संकेत गर्दै प्रश्न गरेका छन् । सोमबार अदालतले शेरबहादुर देउवाको नाममा परमादेश जारी गरेपछि ओलीको सरकार ढलेको थियो ।