कोरोना तीव्ररूपमा बढिरहेको भन्दै आजदेखि कञ्चनरुप नगरपालिका सिल — OSNepal

कोरोना तीव्ररूपमा बढिरहेको भन्दै आजदेखि कञ्चनरुप नगरपालिका सिल

LC (KTM) May 14, 2021 0

राजविराज, ३१ वैशाख : सप्तरीको उत्तरपूर्वी भेगमा रहेको कञ्चनरुप नगरपालिकामा कोरोना भाइरस तीव्ररूपमा बढिरहेको भन्दै आजदेखि नगरपालिका सिल गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आज बसेको बैठकले नगरपालिका सिल गर्ने निर्णय गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

बैठकले कञ्चनरुप नगरपालिकामा जिल्लामै सबैभन्दा सङ्क्रमण दर बढी देखिएकाले सबै वडा सिल गरेर आवतजावतमा कडाइ गर्ने निर्णय गरेको प्रजिअ पोखरेलले बताउनुभयो । बिहीबार मात्रै उक्त नगरपालिकामा ४८ जनाको पिसिआर जाँच गर्दा ३७ जनामा कोरोना पुष्टि पाइएको थियो ।

कञ्चनरुपमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १२५ पुुगेको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी वडा नं ८ मा ७५ जना रहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । वडा नं १ बाहेक सबै वडामा कोरोना सङ्क्रमित भएको बताइएको छ । कोरोनाका कारण कञ्चनरुपमा मात्रै अहिलेसम्म पाँचको मृत्यु भइसकेको जनाइएको छ ।

बिहीबार मात्र तीन सङ्क्रमितको मृत्यु भएको थियो । समुदायस्तरमा कोरोना भाइरस व्यापकरूपमा फैलिरहेकाले रोकथाम तथा नियन्त्रणका लागि एक साता कञ्चनरुपमा स्वास्थ्य सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर