विश्व इतिहासमै पहिलोपटक अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै सर्वोच्चलाई झेली रेफ्रीको संज्ञा दिए ओलीले — OSNepal

विश्व इतिहासमै पहिलोपटक अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै सर्वोच्चलाई झेली रेफ्रीको संज्ञा दिए ओलीले

LC (KTM) July 14, 2021 0

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट बाहिरिँदै गर्दा मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै सर्वोच्चको फैसलाको कडा आलोचना गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि ओलीले सर्वोच्च अदालतप्रति आक्रोश पोखेका हुन् ।

प्रधानमन्त्रीका रूपमा देशवासीका नाममा अन्तिम सम्बोधन ओलीले सर्वोच्च अदालतले राजनीति गर्दै फैसला गरेको आरोपसमेत लगाए । तैपनि फैसलालाई आफूले मान्ने र पालना गरेर अघि बढ्ने बताए । सर्वोच्चको फैसलाप्रति टिप्पणी गर्दै ओलीले विश्व इतिहासमै पहिलोपटक अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै सर्वोच्चलाई झेली रेफ्रीको संज्ञा दिए । रेफ्रीले नै गोल गर्न खोजेको उनको आरोप थियो ।

ओलीले भने ‘म जनादेशबाट होइन, परमादेशबाट हटाइएको हुँ । जनादेश त अहिले पनि मेरो पक्षमा थियो । तर, परमादेश शेरबहादुरजीको पक्षमा आयो ।’ उनले जनादेश नै ठूलो शक्ति भए पनि त्यसलाई अहिले लत्याउने काम गरिएको बताए ।

‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आधारित रहेर सर्वोच्च अदालतबाट जेजस्ता फैसला गरिएका छन्, तिनका असर मुलुकको लोकतान्त्रिक प्रणाली, दलीय व्यवस्था र राजनीतिमा लामो समयसम्म रहिरहनेछन्,’ ओलीले भने । ओलीले फैसलाका कतिपय प्रावधान र यसमा प्रयुक्त भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई अत्यन्त चिन्तित तुल्याएको बताए ।राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर