मूल्य पाउन थाल्यो अण्डाले — OSNepal

मूल्य पाउन थाल्यो अण्डाले

LC (KTM) April 18, 2023 0

अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा जुटेका थिए । यतिबेला अण्डाको मूल्य प्रतिक्रेट (३० वटाको) रु दुई सय ४० हाराहारीमा झरेको थियो ।

विसं २०७९ असोज २९ गते पहिलो भेला भएर सङ्गठन गरेका उनीहरूले बितेका छ महिनामा देशका अधिकांश जिल्लामा पुगेर त्यहाँका किसान र व्यवसायीसँग छलफल र बजारीकरणमा जुटे । अहिले प्रतिक्रेट ठूलो अण्डाको मूल्य रु तीन सय ७० पुगेको छ । सङ्घका अध्यक्ष विनोद पोखरेले यस बीचमा झन्डै ७२ जिल्ला आफूहरू पुगेर बजारीकरणमा काम गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन–चारवटा जिल्लाबाहेक सबै जिल्लामा हामी एकपटक पुग्यौँ । कति मुख्य बजारमा धेरैपटक पुगेर छलफल ग¥यौँ ।”

व्यवसायीले अवैध भित्रने कुखुराजन्य पदार्थ रोक्न सम्बन्धित निकायसँग अनुरोधसमेत गर्दैै आएका छन् । व्यवसायीलाई मूल्यमा एकरुपता कायम गर्न उनीहरूले आग्रह गरेका छन् । किसानका अरु समस्या समाधानका लागि पहल गर्दै आएका छन् ।

“पोल्ट्री व्यवसाय बचाउनका लागि अन्तिमपटकको हाम्रो यो प्रयास सफलतातिर गएको छ”, अध्यक्ष पोखरेलले भन्नुभयो । किसानकोमा झन्डै आधा कुखुरा घटेको जनाउँदै उहाँले लागत मूल्य अझै पाउन नसकेको गुनासो गर्नुभयो । देशभर ३० हजारभन्दा बढी कुखुरा पाल्ने ५० व्यवसायी यो सङ्घमा आबद्ध छन् । अझै १५ जना जति सङ्घमा आवद्ध नभएका बताइएको छ ।

नेपालको पोल्ट्री क्षेत्रमा परिचय कमाउनुभएका गुणचन्द्र विष्टलाई संरक्षक बनाएर आफूहरू देशव्यापी अभियानमा जुटेको अध्यक्ष पोखरेलको भनाइ छ । व्यवसायी सुरेश वैद्य, त्रिलोचन कँडेल र शिभाजी साह पनि अभियानमा जुट्नुभएको छ ।

व्यवसायीको बीचमा सहमति, सहकार्य र एकता कायम गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन सक्रिय भएको उहाँको भनाइ छ । सङ्घका महासचिव शोभाकान्त ढकालका अनुसार १० वर्ष पहिले एक क्रेट (३० वटा) अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । उहाँले भन्नुभयो, “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य उस्तै छ ।”

निजी क्षेत्रको सक्रियताले खपत बढेपछि अहिले अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय ७० पुगेको छ । ढकालको भनाइमा अहिलेको लागतमूल्य प्रतिक्रेट रु चार सय ५० हाराहारी छ । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने उत्पादक र सप्लायर्सबीचमा साझेदारी कायम गर्दै बजारलाई व्यवस्थित गर्न लागिपरेको बताउनुहुन्छ । सरकारले समयमा सम्बोधन नगरेमा व्यवसाय समाप्त हुने उहाँको भनाइ छ ।

औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उहाँले बताउनुभयो । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्र मूल्य प्रतिगोटा रु १६ थियो । लागत मूल्यसम्म पाउन सके किसान बच्न सक्ने उहाँ बताउनुहुन्छ । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुन्छ । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् ।

सरकारले मूल्य निर्धारण, गुणस्तर नियमन, रोगको नियन्त्रण, क्षतिपूर्तिको प्रत्याभूति, बोर्ड गठन गर्नुपर्ने व्यवसायीको माग छ । अहिलेसम्म कुखुराको दानाको अनुमतिपत्र र नियमित खाद्यमार्फत हुँदै आएको छ । सङ्घका सचिव मदन पोखरेल भारतीय क्षेत्रबाट अवैधरूपमा भित्रिने अण्डा नियन्त्रण गर्नुपर्ने बताउनुहुन्छ । बैंकको ऋणको ब्याजदर घटाउनुपर्ने र राज्यले समयमै सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले हेरेन भने यो व्यवसाय धरासायी भएर जाने अवस्थामा पुगेको छ ।”

आधाभन्दा बढी व्यवसायी पलायन भइसकेको जनाउँदै उहाँले उत्पादन घट्दै गएको बताउनुभयो । उत्पादन घट्दासमेत खपत अझै बढ्न नसकेको भन्दै उहाँले निजी क्षेत्रको प्रयासले मात्रै नपुग्ने भएकाले सरकारले सम्बोध गर्नुपर्ने बताउनुभयो । व्यवसायीहरू आफ्नो व्यवसाय छाडेर सामूहिक बजारीकरणका लागि जुटेको उहाँको भनाइ छ । राष्ट्र बैंकको मौद्रिक नीतिका कारण व्यवसायीहरू थप मर्कामा परेको गुनासो गरेका छन् ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर