अनन्तनाग – दक्षिणी कश्मीरको अनन्तनाग जिल्लाका फारुक अहमद गनाईले आफ्नो क्षेत्रमा प्लास्टिकको फोहोरको समस्या समाधान गर्न अनौठो पहल सुरु गरेका छन् । ‘प्लास्टिक दिनुहोस् सुन लिनुहोस्’ भन्ने नाराका साथ गनाईले २० क्विन्टल (दुई हजार किलो) प्लास्टिकको फोहोर सङ्कलन गर्ने जोसुकैलाई १० ग्राम सुनको सिक्का दिने घोषणा गरेका छन् ।
अनन्तनाग जिल्लाको हिलर शाहाबाद क्षेत्रको विकट गाउँ पञ्चायत सदिवाराका प्रमुख गनाईले गाउँका मानिसलाई प्लाष्टिकजन्य फोहोरलाई खोलानाला र सडकमा फाल्नुको सट्टा जम्मा गर्न उत्प्रेरित गर्दै पुरस्कारको रूपमा सुनको सिक्का दिने घोषणा गरेका हुन्
प्लाष्टिक प्रदुषण न्यूनीकरणका लागि जनचेतना र मानसिकता परिवर्तन गर्नु महत्वपूर्ण रहेको उनको भनाइ छ । सुनको सिक्का दिने योजना सार्वजनिक गर्नुअघि गनाईले जिल्लाका उप आयुक्त डा बशारत कयुमसँग यससम्बन्धमा विचारविमर्श गरेका थिए । उनले पनि त्यसको प्रशंसा गर्दै त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि ग्रामीण विकास विभागद्वारा आयोजित एक कार्यक्रमका बीच गत जनवरी ७ देखि ‘प्लास्टिक दिनुहोस् सुन लिनुहोस्’ अभियान औपचारिक रूपमा सुरु भएको हो ।