अविरल वर्षाले मस्र्याङ्दी नदीमा रहेको चामे–झोलुङुगे पुल उच्च जोखिममा — OSNepal

अविरल वर्षाले मस्र्याङ्दी नदीमा रहेको चामे–झोलुङुगे पुल उच्च जोखिममा

LC (KTM) July 13, 2021 0

मनाङ, २९ असार – लगातारको अविरल वर्षाले मस्र्याङ्दी नदीमा रहेको पुल उच्च जोखिममा परेको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल जोखिममा परेको छ । चामे गाउँपालिका–४ र ५ जोड्ने सो पुल मस्र्याङ्दी नदीमा आएको बाढीले धार काट्दै लगेपछि जोखिममा परेको सो गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण गौलीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाको चामे ४ र ५ जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि मस्र्याङ्दी नदीमा बाढी आएको छ । नदीको वहाव अझै उस्तै छ, घटेको छैन । नदीमा आएको बाढीले धार काट्दै लगेको छ । यस कारणले पुलको एकतिरको भाग ढल्किएको छ । झोलङ्गे पुलसम्म पानी आएको र ढल्किएपछि स्थानीयवासीको आवतजावत रोकिएको छ ।”

नदीमा आएको बाढीले यही असार ४ गते माथिल्लो मनाङ जोड्ने मोटरेवल पुलमासमेत असर पु¥याएको थियो । अहिले पुलबाट आवातआवत बन्द छ । स्थानीयवासी यसपछि चामे झोलुङ्गे पुलबाट आवतआवत गर्दै आएका छन् । अहिले यो पुलमासमेत बाढीले क्षति पु¥याएपछि माथिल्लो मनाङसँगको सम्बन्धविच्छेद हुने सम्भावना बढेको उहाँले बताउनुभयो ।

उहाँ भन्नुभयो,“ यो पुल नदीको बाढीले बगायो भने माथिल्लो मनाङसँगको सम्बन्धविच्छेद हुन्छ । ङिस्याङ गाउँपालिका–९ खाङसारस्थित विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताललगायतका पर्यटकीय क्षेत्रबाट सम्बन्ध टुट्नेहुन्छ ।” त्यस्तै नदीको बाढीले जिल्लाका दर्जनौँ पुल बगाएका छन् । जिल्लामा अविरल वर्षासँगै आएको बाढीपहिरोले करोडौँको भौतिक क्षति पु¥याएपछि यतिवेला मनाङवासी पीडामा छन् । मस्र्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ । जिल्लाको चार स्थानीय तह नै बाढीपहिरोबाट पूर्णरुपमा प्रभावित भएको छ । नासोँ, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरोबाट क्षतिग्रस्त भएको छ, भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर