भक्तपुर, २९ असार- जुनसुकै उमेर समूह तथा लिङ्गका व्यक्तिबाट रमाइलो गर्दै खेलिने प्राचीन डोरी तान खेललाई देशव्यापीरूपमा विस्तार गरिने भएको छ । परम्परादेखि नै चल्दै आए पनि पछिल्लो समयमा यी खेल ओझेलमा पर्दै गएपछि डोरी तान्ने नेपालको पुरानो खेललाई जोगाउन नेपाल डोरी तान सङ्घले यो खेललाई देशव्यापीरूपमा विस्तार गर्ने भएको हो ।
यसै क्रममा डोरी तान सङ्घ (नेपाल टग अफ वार)वाग्मती प्रदेशका अध्यक्षमा सुन्दरकुमार शाक्य (भक्तपुर) चयन हुनुभएको छ । उपाध्यक्षमा आशिष श्रेष्ठ (ललितपुर), सचिवमा निरोज महर्जन (ललितपुर), कोषाध्यक्षमा जमुना महर्जन (मकवानपुर) र सहसचिवमा मुरारीप्रकाश सञ्जेल (काठमाडौंँ) चयन हुनुभएको सङ्घ केन्द्रीय उपाध्यक्ष एवं वाग्मती प्रदेश संयोजक भुवनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी प्रदेश सदस्यमा कर्मावाङ्गेल लामा (सिन्धुपाल्चोक), ओम प्रधान (सिन्धुली), रमेश श्रेष्ठ (धादिङ), प्रल्हाद खनाल (काठमाडौँ), नारायणप्रसाद श्रेष्ठ (रामेछाप), जानकी गुरुङ (काठमाडौँ), हीरा शर्मा नेपाल (काभ्रे) र श्रीराम दाहाल (काठमाडौँ) चयन हुनुभएको छ । जिल्ला शिक्षा अधिकारी हुँदै शिक्षा मन्त्रालय एवं मातहतका कार्यालयमा सेवा गर्दै हाल अवकाशप्राप्त अध्यक्ष शाक्यले खेललाई विद्यालयस्तरमा विस्तार गर्दै लगिने बताउनुभयो ।
नेपाल टग अफ वारका केन्द्रीय अध्यक्ष भवानी पौडेलले कार्यक्रममा सङ्घका भावी योजना, कार्ययोजना, विगतमा भएका कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । सङ्घ केन्द्रीय उपाध्यक्ष एवं वाग्मती प्रदेशका संयोजक श्रेष्ठले चयन भएका समितिको नामावली घोषणा गर्दै सङ्घलाई बाँकी दुई प्रदेश र जिल्ला हुँदै देशभरि विस्तार गरिने बताउनुभयो ।
कार्यक्रममा सङ्घका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं १ का अध्यक्ष सूर्य भण्डारीले स्कूल र कलेजमार्फत डोरीतान खेललाई विस्तार गरिँदै लगेको बताउनुभयो । अन्तरराष्ट्रिय डोरी तान महासङ्घको नियमानुसार प्रत्येक खेल बेष्ट अफ थ्री नकाउटका आधारमा खेलाइन्छ । (रासस)