बीबीसी -अफगानिस्तानको राजधानी काबुलस्थित ब्रिटिश राजदूतावासका लागि काम गरेका नेपाली सुरक्षागार्डहरूलाई यूकेबाट फिर्ता पठाउने योजना तत्कालका लागि रोकिएको छ। सन् २०२१ मा अफगानिस्तानको सत्ता तालिबानले लिएपछि यूकेका लागि काम गरिरहेका ती सुरक्षागार्डहरूलाई उद्धार गरेर यूके लगिएको थियो।
तर यूके पुगेको १९ महिनापछि उनीहरूलाई निष्कासन गरेर नेपाल र भारत पठाउने आदेश जारी भएको थियो। त्यसका लागि आवश्यक कागजपत्र पनि बनिसकेको थियो।तीमध्ये केही व्यक्तिलाई उनीहरू बसेको होटलमा छापा मारेर पक्राउ गरिएको थियो।यूकेको गृह मन्त्रालयले उनीहरूलाई यूकेबाट निष्कासन गर्ने तयारी अहिलेका लागि रोकिएको जनाएको छ।गृह मन्त्रालयका एक प्रवक्ताले रेडिओफोरको वर्ल्ड टुनाइटसँग कुरा गर्दै बुधवार भनेका छन्, “यसबारे थप समीक्षा नहुँदासम्मका लागि यो समूहलाई निष्कासन गर्ने कुरा अहिलेलाई रोकिएको छ।”
गृह मन्त्रालयले तीमध्ये कतिपय व्यक्तिलाई यूकेमै स्थायी बसोबासको सुविधा यसअघि नै दिइसकेको थियो।यसअघि गृह मन्त्रालयले त्यस्तो अनुमति पाएका व्यक्तिलाई निष्कासन गर्ने कुरा सत्य नभएको जनाएको थियो।काबुलको उच्च सुरक्षा घेराभित्र रहेका यूके र क्यानडाका दूतावासहरूको सुरक्षार्थ १३ जना नेपाली पूर्वसैनिकहरू खटिएका थिए। उनीहरू यूकेको एउटा निजी सुरक्षा कम्पनीबाट अफगानिस्तानमा सुरक्षा गार्डको काम गर्न पुगेका थिए।
गत साता तीमध्ये १० जनालाई पश्चिम लन्डनको एक होटलबाट हतकडी लगाएर पक्राउ गरिएको थियो। त्यहाँ उनीहरू अफगान शरणार्थीहरूलाई खाना पकाउने र दिने काम गरेर बसिरहेका थिए।त्यहाँबाट लगिएका नेपाली सुरक्षा गार्डहरूलाई ग्याट्विक र हीथ्रो विमानस्थलनजिकैका अध्यागमन निष्कासन केन्द्रहरूमा राखिएको थियो।
उनीहरूलाई बिहीवारको पहिलो उडानबाट स्वदेश फर्काउने तयारी गरिएको थियो।यो समूहमा रहेका केही व्यक्तिका वकिल जेमी बेलले आफ्ना सेवाग्राहीहरूलाई फिर्ता पठाउने निर्णय अचानक उल्टिएपछि आफू “हर्षित” भएको बताए।“यद्यपि यसबाट किन यस्तो भयो भन्ने प्रश्न उठेको छ,” उनले वर्ल्ड टुनाइटसँग भने।
“किन कानुनी उपचारको चेतावनी र सञ्चारमाध्यमको ठूलो चासो देखिनुअघि समीक्षा र पुनर्विचार गरिएन?”बेलका अनुसार यो घटनाबाट अफगानिस्तानको सत्तामा तालिबान आएपछि दिइएको अवसरबारे थप प्रश्नहरू उब्जिएका छन्।“यस्ता योजनाहरूको मस्यौदा राम्रोसँग बनाइएको छैन, कार्यान्वयन कमजोर छ र उनीहरूले सहयोग गर्नुपर्ने आवश्यकता भएका मानिसहरूलाई सहयोग गरिरहेका छैनन्,” बेल थप्छन्।