काठमाडौं । ‘प्रसाद २’का निर्माता सुवास थापाले आफ्नो फिल्म निर्धारित समयमा नै प्रदृशन गर्ने वातावरण बनाइदिन सबैमा अपिल गरेका छन् । निर्माता सुवास थापाले सामाजिक संजाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै अहिले निर्धारित समयमा नै फिल्म प्रदृशन गर्न दिएमा आँफुले रिलिजिपछि सबै पैसा आँफुले एक एक हिसाब गरेर तिर्ने बताउका छन् ।
प्रहरी, चलचित्र विकास बोर्ड, निर्माता संघ, चलचित्र संघ र प्राविधिक संघमा आर्थिक लेनदेनका उजुरीको संख्या दिनहुँ बढ्न थालेपछि निर्माता थापाले स्टाटस मार्फत फिल्म रिलिजको वातावरण मिलाइदिन सबैमा आग्रह गरेका हुन् । प्रदर्शनको वातावरण बनाइदिन र बक्यौतालाई रिलिजपछि मात्र तिर्ने कुरामा सघाउन उनले आग्रह गरेका छन् । फेसबुकमा उनले लेखेका छन् ‘मेरो चलचित्र प्रसाद २ रिलिजको पूर्वसन्ध्यामा छ ।
तर चलचित्र निर्माणको सम्बन्धमा केही बाधा आइरहेको छ । जुन मेरो चलचित्र बनाउने हुटहुटी र मैले चलचित्र निर्माणमा जानी नजानी गरेको गल्तीका कारण उत्पन्न भएको हो । प्रसाद २ निर्माणको क्रममै पनि पटक-पटक विभिन्न अवरोध आए ।
तथापि सम्पूर्ण अवरोध छिचोल्दै प्रसाद २ निर्माण सम्पन्न गरी रिलिजको अवस्थामा पुग्यो । मैले माघमै चलचित्र रिलिज गर्ने तयारीको कारण मैले तिर्नुपर्ने रकम माघपछिको भाखामा तिर्ने वचनबद्धता प्रकट गरे । तर समयमा रिलिज हुन नसक्दा मेरो वचनबद्धतामा म चुकें । तथापि अब रिलिजको सम्पूर्ण तयारीमा रहेको हुँदा चलचित्र प्रदर्शनमा सहयोगको लागि सबैमा आग्रह गर्दछु । मेरो नियत खराब होइन, नियतिको कारण मैले वचन पूरा गर्न नसकेको हो ।’
उनले फेसबुकमा लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै
नमस्कार
म सुवास थापा प्रसाद र प्रसाद २ को निर्माता । मेरो चलचित्र प्रसाद २ रिलिजको पुर्वसन्ध्यामा छ । तर चलचित्र निर्माणको सम्बन्धमा केही बाधा आईरहेको छ । जुन मेरो चलचित्र बनाउने हुटहुटी र मैले चलचित्र निर्माणमा जानी नजानी गरेको गल्तीको कारण उत्पन्न भएको हो । प्रसाद २ निर्माणको क्रममै पनि पटक पटक बिभिन्न अवरोधहरु आए । तथापी सम्पुर्ण अवरोध छिचोल्दै प्रसाद २ निर्माण सम्पन्न गरि रिलिजको अवस्थामा पुग्यो । मैले माघ मै चलचित्र रिलिज गर्ने तयारीको कारण मैले तिर्नुपर्ने रकम माघ पछिको भाखामा तिर्ने बचनबद्धता प्रकट गरे । तर समयमा रिलिज हुन नसक्दा मेरो बचनबद्धतामा म चुके । तथापि अब रिलिजको सम्पुर्ण तयारीमा रहेको हुदा चलचित्र प्रदर्शनमा सहयोगको लागि सबैमा आग्रह गर्दछु ।
मेरो नियत खराब हैन नियतिको कारण मैले बचन पुरा गर्न नसकेको हो । चलचित्र रिलिज पछि सबै रकम पहिला तिर्नु पर्नेलाई तिरी मात्र म आफ्नो भागको रकम लिनेछु । हलबाट आउने रकम सबै चलचित्र सँग सम्बन्धित कुनै सँस्थामा रहने र सबैको हिसाब त्यहीबाट तिर्नुपर्ने लाई दिई बाँकी रहेको रकम मलाई बुझाउने गरी गरेमा मेरो मन्जुरी छ । यो चलचित्रमा धेरैको मेहनत छ । तसर्थ सबै मिलेर चलचित्र रिलिज हुने बाताबरण बनाई सबैको रकम चलचित्र प्रदर्शन पछि प्राप्त हुने गरि गरिदिन हुन सबै सरोकारवाला सँघ सँस्था, ब्यक्तिमा आग्रह गर्दछु । नतिर्ने मेरो नियत हैन, नियतिले यो अवस्था आयो । सहयोगको आग्रह सहित धन्यवाद ज्ञापन गर्न चाहान्छु।