भक्तपुर, १८ चैत-पेशागत स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै भक्तपुरको एउटा निजी कम्पनीले आफ्ना कर्मचारी तथा मजदुरको स्वास्थ्य परीक्षण गरेको छ ।इको प्यानल नेपाल प्रालिले भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको कारखानामै चिकित्सकलाई बोलाएर कर्मचारी तथा मजदुरहरुको निःशल्क स्वास्थ्य परीक्षण गराएको हो ।
कर्मचारी तथा मजदुरहरुको प्रेसर, सुगरलगायतको जनरल स्वास्थ्य परीक्षण गराएको हो । ख्वप अस्पताल च्याम्हासिंहका डा. निर्जना वजिक्वले उनीहरूलाई सेवा दिएकी थिइन् । पेशागत स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आफ्ना कर्मचारी तथा मजदुरलाई निःशुल्क स्वास्थ्य उपलव्ध गराएको सम्भबत यो भक्तपुरमै पहिलो निजी कम्पनी हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले कर्मचारी स्वस्थ्य भए मात्रै कम्पनी राम्रो हुने भन्दै सामाजिक उतरदायित्व अन्तर्गत कर्मचारी तथा मजदुरहरुको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको सुनाए । यो कामलाई निरन्तरता दिने योजना रहेको पनि उनले सुनाए । साथै सम्भव भएसम्म भोलिका दिनमा निःशुल्क औषधि वितरण गर्ने योजना रहेको पनि उनले सुनाए ।
स्टाफ हेल्थ चेक अप क्याम्प (कर्मचारी स्वास्थ्य जाँंच क्याम्प) नाम दिइएको यो क्याम्पमा कर्मचारी तथा मजदुर गरी तीन दर्जनले स्वास्थ्य सेवा पाएका थिए । क्याम्पमा कम्पनीका सिइओ इन्जिनियर दुवालसहित कम्पनीमा कार्यरत महिला तथा पुरुष कर्मचारी तथा मजदुरहरुले सेवा पाएका थिए । कम्पनीको झोखेलस्थित कारखाना र भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा रहेको कर्र्पाेेरेट कार्यालयमा कार्यरत कर्मचारीहरुले पनि सेवा पाएका थिए ।
इको प्यानल नेपाल प्रालिले झौखेलको कारखानाबाट इको प्यानल उत्पादन गर्दै आएको छ । स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री नै इको प्यानल हो । यसको प्रयोगबाट तीव्र निर्माण सम्भव हुन्छ । कारखानामै पहिला नै तयार पारी निर्माणस्थलमा जोडे मात्रै पुग्ने भएकोले यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुने हो । पछिल्लो पटक इको प्यानल नेपालले आफनो भगिनी कारखानाको रुपमा झौखेलमै यूपीभीसी झ्यालढोकाहरुको उत्पादन पनि थालेको छ ।