प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेल भोलि हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेलमा आयोजक नेपाल र लाओस भिड्दै छन् । फाइनल खेल भोली साँझ साढे ५ बजे सुरु हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनलमा स्थान बनाएको हो । लाओसले दोस्रो स्थानमा रहदै नेपालसँगको फाइनल भिडन्त पक्का गरेको हो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो । नेपाल त्यहिँ नतिजालाई कायम राख्न चाहन्छ । लाओस भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । प्रतियोगिताको फाइनल अघि नेपाल र लाओस उपाधि जित्नेमा ढुक्क देखिएका छन् । आज आयोजित प्रि-म्याच कन्फरेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरे ।
नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले नेपालको नयाँ टोलीको मनोबल उच्च बनाउनका लागि पनि उपाधि जित्नु आवश्यक रहेको बताए । लाओसका कप्तान सौकाफोन भोङ्चियाङ खामले आफूहरू फाइनलका लागि तयार रहेको र तयारी राम्रो रहेको बताए । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।