युद्घबहादुर मल्ल / मुगु -विकट हिमाली जिल्ला मुगुलाई यसै बर्ष भित्र साक्षर जिल्ला घोषणा गरिने भएको छ ।शिक्षा विकास तथा समन्वय ईकाई मुगुको आयोजनामा आईतबार भएको साक्षर नेपाल २०७६ अवधारणा पत्र १ दिने अभिमुखिकरण कार्यक्रममा सहभागी सरोकारवालाहरुले जिल्लालाई यसै बर्ष भित्र साक्षर जिल्ला घोषणा गर्न प्रतिवद्दता गर्नु भएको हो ।
सरोकारवालाहरुले साक्षर नेपाल वर्ष २०७६ को अवधारणा पत्रले तोकेको जिम्मेवारी पुरा गर्ने प्रतिवद्दता गरे पश्चात यसै वर्ष मुगु जिल्ला साक्षर जिल्लाको रुपमा घोषित गर्न सकिने सुनिस्चिता बढेको शिक्षा विकास तथा समन्वय ईकाई मुगुका प्रमुख सुर्य बहादुर खत्रीले बताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथी छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले गत वर्ष नै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने भनिएपनि कोरोना कहरको असरले प्रभाव पारेको बताउदै उहाँले यो पटक आफनो नगर क्षेत्रहरुमा साक्षर र निरक्षरहरुको एकिन तथ्याङ्क संकलन गर्ने र घर घरमा साक्षर गणन खटाउने र पुष सम्म साक्षर नगर घोेषणा गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो । नगर भित्रका शिक्षा तथा खेलकुद शाखाले कार्यक्रम र बजेट सहितको साक्षर नगर घोषणाका आधार सहित पेश गरेमा अन्य क्षेत्रकोे बजेट घटाएर पनि साक्षर नगर घोषणामा बजेटको व्यवस्था गर्ने पनि उहाँले भन्नुभयो ।
जिल्लाका ४ वटा स्थानिय तहमा मध्य छायाँनाथ रारा नगर क्षेत्रमा साक्षरता ६५ प्रतिशत रहेको नगरपालिकाले जनाएको छ यहाँ ३५ प्रतिशत निरक्षरलाई नगरपालिकाले साक्षर बनाउनु पर्नेछ ।शिक्षकहरुको पेशागत संगठन नेपाल शिक्षक महासंघ मुगुका अध्यक्ष जंग बहादुर शाहीले देश संघियतामा गएपछि देशमा तिन तहका सरकार भएकाले तिनै तहका सरकारहरुको समन्वय,सहकार्य र सह अस्तित्वमा साक्षर नेपाल धोषणा गर्ने कृयाकलाप संचालन गर्नु पर्ने र माध्यामिक तहसम्मको अधिकार स्थानिय सरकारको भएकाले स्थानिय सरकारहरु आ आफना पालिकाहरुलाई साक्षर घोषणा गर्न र पालिकामा निरक्षर उन्मुलन गर्न अग्रसर हुने पर्ने सुझाव दिनु भयो उहाँले साक्षर जिल्ला घोषणा गर्न स्थानिय सरकारहरुले आफुहरुलाई दिने जुनसुकै साक्षरजिम्मेवारी वहन गर्ने पनि प्रतिवद्दता व्यक्त गर्नु भयो ।
साक्षर जिल्ला घोषणा गर्नमा जिल्लामा कृयाशिल राजनैतिक दलहरु अझ जिम्मेवार हुनु पर्ने पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताउनु भयो । उहाँले भन्नुभयो राजनैतिक पाटीहरुले आफना सदस्यहरु अनिवार्य साक्षर हुनुपर्ने,साक्षर कार्यकतालाई मात्र आगामी जुनसुकै निर्वाचनमा उम्मेदवार बनाईछ भन्ने जस्ता प्रावधान राखेमा साक्षरता नेपालको अवधारणामा ठुलै परिवर्तन आउने छ । यस्तै संघ,प्रदेश र स्थानिय सरकारहरुले संचालन गर्ने विकासे उपभोक्ता समितीमा साक्षरलाई मात्र समेटिने गरिनु पर्छ भने साक्षर भएको संकेत दिने अक्षर,अंक,चित्रहरु सर्वसाधारणले बुझोस भनेर भिडियो,ध्वनी र साक्षर बोर्ड मार्फत प्रचार प्रसार गरिनु पर्छ ।
जिल्ला समन्वय समितीका प्रमुख पुर्ण बहादुर रोकायामा अध्यक्षतामा भएको कार्यक्रममा समन्वय उपप्रमुख कर्णशिला मल्ल,उपप्रमुख सुन्तला रोकाया,प्रजिअ चन्द्र बहादुर शिवाकोटी, चारै पालिकाका शिक्षा प्रमुख,विद्यालय व्यवस्थापन समिती मध्यबाट महाकाली उमाविका अध्यक्ष लोकेन्द्र बहादुर मल्ल,शिक्षा विज्ञ देवीकृष्ण रावल,प्रअ देव बहादुर मल्ल,गैससबाट किर्डाक नेपाल मुगुका प्रमुख टेक बहादुर शाहीलाई साक्षर मुगु घोषणा गर्न के के कस्ले के गर्नु पर्ने जस्ता दजनौ सुझाव दिनु भएको थियो ।
शिक्षा सो्रत व्यक्ति खड्क बहादुर रोकायाले प्रस्तुत गर्नु भएको अवधारणा पत्र अनुसार देशभरका ७७ जिल्लाहरु मध्य ३० जिल्ला साक्षर जिल्ला घोषणा हुन बाकी रहेका छन । आगामी २ बर्ष भित्रमा नेपाल सरकारले यी ३० जिल्लाहरुलार्ई साक्षर जिल्ला घोषणा गरेर नेपाल देशबाटै निरक्षर उन्मुलन भएको घोषणा गरेर साक्षर नेपाल भनेर विश्वभर नेपाल चिनाउने उदेश्य लिएको छ ।
राष्टिय जनगणना २०६८ को तत्थ्याङ्क अनुसार मुगु जिल्लामा ६५ प्रतिशत साक्षर छन भने ३५ प्रतिशत निरक्षर रहेका छन । पालिकामा रहेका शिक्षा शाखाहरुले दिएको तथ्याङ्क अनुसार हाल छायाँनाथ रारा नगरपालिकामा साक्षर ६५ प्रतिशत,निरक्षर ३५ प्रतिशत सोरु गाँउपालिकाम साक्षर ८५ प्रतिशत निरक्षर १५ प्रतिशत,खत्याड गाँउपालिकामा साक्षर ९० प्रतिशत निरक्षर १० प्रतिशत र मुगुम कार्मारोङ्क गाँउपालिका भरी १२६५ जना निरक्षर रहेको बताईएको छ । जनगणना २०६८ र पालिकाका शिक्षा शाखाहरुले दिएको साक्षर र निरक्षर तथ्याङ्कलाई सरोकारवालाहरुले विश्वस्निय नभएको बताएका छन । उनीहरुलाई साक्षरताको एकिन र विस्वस्निय तथ्याङ्क ल्याउन जनगणना,कृषि गणना जस्तै साक्षर गणना अभियान सरकारले चलाउनु पर्ने सुझाव दिएका छन ।