चितवन, २७ असार – जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनाको अधिकांश भूभाग पहाडी क्षेत्रमा पर्दछ । त्यस क्षेत्रका जनताको मुख्य समस्या खानेपानी हो । गाउँपालिकाले उच्च प्राथामिकतामा खानेपानीलाई पार्ने गरेको छ ।गाउँपालिका प्रमुख गीता गुरुङले शनिबार मात्र इच्छाकामना–३ दारेचोकस्थित तोक्दाङढापमा खानेपानी आयोजनाको उद्घाटन गर्नुभयो । सो अवसरमा एक घर एक धाराअन्तर्गत ४६ घरमा धारा जडानको काम सम्पन्न भएको छ । उहाँका अनुसार झण्डै छ किलोमिटर टाढाका दुई खोलाबाट पानी ल्याइएको हो । रु ३५ लाखको लागतमा योजना सम्पन्न भएको हो । उहाँले भन्नुभयो, “अब तोक्दाङढापवासीले घण्टौँ लगाएर पानी लिन जानु पर्दैन ।”
गाउँपालिकाकै वडा नं ६ ढुङ्ग्रेमा रु एक करोडको लगानीमा बन्दै गरेको आयोजना साउनमा सम्पन्न हुँदैछ । त्यहाँ १०० भन्दा बढी घर लाभान्वित हुनेछन् । सो आयोजनाको ७२ धारा जडान भइसकेको गुरुङले जानकारी दिनुभयो । सोही गाउँपालिकाको वडा नं १ ज्ञानजालामा पनि रु एक करोडको लगानीमा बन्दै गरेको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । त्यस आयोजनाले ७० घरपरिवारलाई खानेपानी पु¥याउने छ ।
इच्छाकामनाकै वडा नं ५ इच्छाकामना मन्दिर परिसरमा रु एक करोडकै लागतमा खानेपानी आयोजनाको काम भइरहेको छ । पानी निस्किसकेको र धारा जडानको काम भइरहेको उहाँको भनाइ छ । यस आयोजनाले मन्दिर क्षेत्रसँगै स्थानीय ५५ घरलाई खानेपानी पु¥याउने छ । तीनवटै आयोजना लिफ्टिङ प्रणालीबाट गरिएका हुन् । सबैमा सोलार जडान गरिएका छन् । अप्ठ्यारो भएकाले यी आयोजना सम्पन्न हुन समय लागेको भन्दै उहाँले आफ्नो गाउँपालिकाको सातवटै वडामा अब खानेपानीको समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “अब हाम्रो गाउँपालिकामा खानेपानीको दुःख नहोला ।” आफू प्रमु्ख भएपछि खानेपानीलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको भन्दै उहाँले खानेपानीको समस्या मुख्यरूपमा महिलाले पाउने गरेको बताउनुभयो ।(रासस)