काठमाडौं । ‘प्रसाद २’ का निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ ।थापाविरुद्ध ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स र ठगी आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा फिल्म निर्माता केशव पाण्डेले मुद्दा दर्ता गराएका हुन् ।
पाण्डे उक्त फिल्मका पूर्वनिर्माता समेत हुन् । पाण्डेले फिल्म निर्माण गर्ने र मुनाफाबाट आएको रकम बाँड्ने भनेर आफूलाई प्रलोभनमा पारी थापाले एक वर्षअघि उक्त रकम लिए पनि उक्त रकम नदिएको भन्दै उजुरी दिएका हुन् ।
थापाले गत माघ २९ गते नेपाल इन्भेष्टमेन्ट बैंक, कालिमाटी शाखामा रहेको खाताको चार वटा चेक दिएको तर साट्न जाँदा पर्याप्त मौज्दात रकम नभएकाले आफूलाई झुक्याएको आरोप लगाएका छन् ।
त्यस्तै पाण्डेले ल्मको सेन्सर रोक्न पनि आफूले सेन्सर बोर्डमा निवेदन दिएको समेत बताएका छन् । विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म आगामी चैत २४ गते रिलिजको तयारीमा छ । यसो त यस अघि पनि आन्तरिक लफडाका कारण ‘प्रसाद २’ पटकपटक विवादमा पर्दै आएको छ । ‘प्रसाद २’लाई सुर्दसन थापाले निर्देशन गरेका हुन् ।