जुम्ला-सहकारी संस्थाले गाउँमै पुगेर आलु खरिद गरेपछि जुम्ला पातारासी गाउँपालिका किसानलाई बजारीकरणमा सहज भएको छ । आलु उत्पादनका लागि राम्रो ठाउँ मानिने पाताराासीमा हिमालयन सहकारी संस्थाले किसानका घरै पुगी आलु खरिद गरेपछि बजारीकरणमा सहज भएको हो ।
सडक सञ्जाल जोडिनुपूर्व यहाँका महिला पैदलयात्राबाट जुम्ला सदरमुकाम खलङ्गा पुगेर धानसँग आलु साट्ने गर्दथे । तर अहिले भने गाउँमै प्रतिकेजी रू २५ मा आलु धमाधम बिक्री भइरहेको स्थानीय मायादेवी बुढाले बताउनुभयो ।
घरबाटै आलु बिक्री गर्न पाउँदा किसानलाई सहज भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ । “सहकारी संस्थाले गाउँसम्म पुगेर आलु खरिद गरेपछि महिलालाई डोको बोकेर बजार खोज्नुपर्ने बाध्यता हटेको छ उपाध्यक्ष रोकायाले भन्नुभयो, “यहाँको आलु सुर्खेतलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा निर्यात भइरहेको छ ।”
पालिका अन्तर्गत सातवटै वडामा आलु उत्पादन हुन्छ । चैतमा रोपिने आलु वैशाखमा गोडमेल गरेर असोजमा सङ्कलन गरिन्छ भने हिँउदमा घाम नलाग्ने ठाउँमा खाडल बनाएर भण्डार गरिन्छ । अहिले पातारासीका रिनी, पठमारा, बाँता गाउँबाट मात्र आठ सय क्विन्टल आलु बाहिरी जिल्लामा पठाइएको उपाध्यक्ष रोकायाले जानकारी दिनुभयो ।
आलु जोनले समेत पातारासीबाटै बिउ मगाउने गरेको हिमालयन बहुउद्देश्यीय सहकारीका बजार व्यस्थापक राजेन्द्र बुढाले जानकारी दिनुभयो । सहकारीले आलुको अग्र्यानिक ब्राण्ड नै दर्ता गरेको छ ।