अम्गाईलाई साहित्यिक पत्रकार सर्वज्ञ वाग्लेका २० प्रश्न — OSNepal

अम्गाईलाई साहित्यिक पत्रकार सर्वज्ञ वाग्लेका २० प्रश्न

LC (KTM) March 08, 2023 0

अनेसास बेल्जियमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका उपाध्यक्ष डिल्ली राम अम्माई एक सक्रिय संचारकर्मी हुन् । जल्दाबल्दा विषयमा खरो उत्रिने अम्गाईसंग साहित्य पोष्टका सम्पादक, साहित्यिक पत्रकार सर्वज्ञ वाग्लेले गरेको कुराकानीको साहित्यिक संवादको सम्पादित अंश:

१) आजकल तपाई अध्ययन , लेखन र साहित्यमा कत्तिको व्यस्त हुनुहुन्छ ?
-म खास गरेर रोजगारीबाट बाँचेको समय लेखन र अध्ययनमा नै लगाउने गरेको छु। एक पत्रकार पनि भएकोले लेख्ने मेरो बानि नै भैसक्यो। त्यसबाहेक अनेसासको जिम्मेवारी आफ्नो ठाउँमा छ। नेपाल पत्रकार महासंघमा समेत सहायक जिम्मेवारी छ। त्यसैले सांगठानिक गतिविधिमा पनि ब्यस्त हुनु पर्छ।

२) तपाईंले साहित्य, जीवन ,दर्शन र प्रकृतिलाई कसरी हेर्नुभएको छ ?

महत्वपुर्ण प्रश्न सोध्नु भयो। मैले साहित्यलाई भाषिक कलाको शुन्दरताको रुपमा बुझ्दछु। यो एक बौद्धिकताको उपज पनि हो,जसले बाँच्नुको बौद्धिक निष्कर्ष दिन्छ।समुदायभित्र रहेका बौद्धिक बर्गको चिन्तन प्रणाली,भोगाइका निष्कर्ष र भबिश्य प्रतिको आशाले जुन निष्कर्ष निकाल्छ त्यो दर्शन हो। एक समुदाय बिशेषको दर्शन प्रणालीभित्र अनगिन्ति उतार चढावहरु आउँछन। त्यहाँ अनगिन्ती झरना, आवाज, बाछिटा र सङ्घर्षका कथाहरू हुन्छन् । बगरमा लुकेझैँ, ओरालीमा कोही भेट्न कुँदे झैँ, बाढीमा मात्तिए झैँ र समुन्द्रमा पुगेपछि सुस्ताए झैँ हुँदै मानव सभ्यता हिँडिरहन्छ । साहित्य भनेको सभ्यताको बिकासक्रमले निर्माण गरेको भाषाभित्रको झरना, झरनाको आवाज, झरनाले बनाएको इन्द्रेणी जस्तै हो । जब नदीले आफ्नो कलाद्वारा आफ्नो बाटोलाई मनोरम र सुन्दर बनाउँदै अघि बढ्छ, त्यो बिकासक्रममा पैदा हुने अनुभूतिलाई साहित्यिक भावद्वारा ब्याक्त गरिन्छ । त्यसैले सभ्यताका विभिन्न चरणबाट निस्कने आवाजको अनुभूति हो साहित्य ।

झरनाको आवाजमा पानीका अणु–परमाणुहरूको मिलन र विच्छेदको अविरल शृङ्खलाले भोगाइको श्रृङ्गार गर्दछ । ती सबैको समष्टिबाट भावको जन्म हुन्छ । साहित्यिक भाव पनि भाषाद्वारा ब्याक्त गरिने तरङ्ग जस्तै हो । देख्दा सुन्दा र भोग्दा जुन तरङ्ग मनमा उठ्छ त्यो पनि साहित्य हो । बहाव चाहे त्यो जीवन जगतको होस् वा प्रकृति जगतको त्यसले कलासँग मिलेर सौन्दर्यको सृष्टि गर्दछ । सौन्दर्य र कलाले भाषाको तरलताबाट उत्कृष्ट साहित्यको निर्माण हुन्छ।

साहित्यमा प्रकृति भोगाइको आधार र भावको सीमासम्म फैलिएको हुन्छ। त्यसमा शुन्दरता,कुरुपता,सुख दुख,सभ्यताका बिकासक्रम, भुत भबिष्य र बर्तमान सबैको आधार प्रकृति हो। छोटकरीमा भन्दा सृजना,बिकास र बिनासको आधार नै प्रकृति हो। प्रकृति भौतिक बिज्ञानमा ब्रमाण्डमा भएका शक्ति र पदार्थका क्रिया प्रतिक्रियासंग मात्र सम्बन्धित हुन्छ भने साहित्यमा चेतना स्वभावको अनन्तताले प्रकृतिको फैलावटलाई रोक्न सक्दैन।

३) तपाईंलाई लेखन, साहित्य र पत्रकारितामा निरन्तर लागिरहने उर्जा कहॅा वाट आएको हो ? विदेशको व्यस्त जीवनमा कसरि समय मिलाउनु हुन्छ ?

लेखनको उर्जा त मन र मस्तिष्कको संकल्पबाट पैदा हुने हो। यसको लागि अध्ययन,बिषयगत चिन्तन,अभ्यास,त्याग,धैर्यता आबश्यक हुन्छ। यी सबै कुराहरुको संयोजनबाट ‘मैले अब लेख्नु पर्छ’भन्ने भावको जन्म गराउँछ। त्यो नै मानिसको दिमागमा बौद्धिकताले जन्म लिँदै गरेको संकेत हो। त्यसले हामीलाई लेख्ने विषयबस्तुको नजिक पुर्याउँछ। त्यसपछि योजना बन्छ र एक समर्पण भाव सहित लेखनमा लाग्ने कुरा भयो। लक्ष निर्धारण भए पछि लक्षको निरन्तरताले सृजनाहरु वा साहित्यिक कृतिहरुको जन्म दिँदै जान्छ।

४) साहित्य लेखन,अध्यायन,चिन्तन र मनन सबैको सन्तुलनलेनै मान्छेलाई उचाईमा लान्छ भन्छन् के यो कुरा सत्य हो ?

हो,यसमा साहित्यिक साधना नै प्रधान कुरा हो। साधना भित्र अध्ययन,चिन्तन,मनन,अभ्यास सबै पर्दछन। तर त्यसको निरन्तरता नहुने हो भने साहित्यिक संकल्पको लक्ष भंग हुन्छ। त्यसैले अभ्यासको निरन्तरताले चेतनाको तहलाई उठाउँदै जान्छ र ति सबैको क्रमिक जोडले मानिसको चेतनाको तहलाई रुपान्तरण गर्दछ। उसले गरेको संघर्षले नै बौद्धिक चेतको तहलाई उचाइमा पुर्याउने हो।

५) तपाई नेपाली साहित्यलाई कसरि हेर्नु हुन्छ ? नेपाली साहित्यलाई विश्व बजारमा पुर्याउन के गर्नु पर्छ होला !

खासमा,मानव समुदायको सभ्यता भन्नाले भाषा,संस्कृति,कला र साहित्य हो । यी चारै तत्वहरुको क्रियात्मक शृङ्खलाले पहिचानको जन्म गराउँछ । अघिल्ला तीन कुरा मिलेपछि समुदायको राष्ट्रियता र त्यसपछि देश बन्दछ । त्यहि पहिचान निर्माणको क्रमले साहित्यको सृजना गर्दै जान्छ । यसर्थ नेपाली सभ्यताको क्रमले जन्माएका भाषिक बौद्धिकताको तरल सुप साहित्य हो। नेपाली साहित्य भाषागत तहबाट हेर्दा केवल नेपाली भाषामा लेखिएका साहित्यिक किर्तिहरु भनेर बुझिन्छ भने नेपाली राष्ट्रियताको तहबाट हेर्दा नेपालमा बोलिने सम्पूर्ण भाषा भाषीमा लेखिएका सबै साहित्यिक कृतिहरुलाई नेपाली साहित्य अन्तरगत राखेर बुझ्नु पर्छ।

मेरो बिचारमा,नेपाली साहित्यको स्तर धेरै माथि उठिसकेको छ। तर समस्या केहो भने हामीले ति साहित्यिक कृतिहरुलाई अन्तराष्ट्रिय बौद्धिक बजारसम्म पुर्याउन सकेका छैनौँ। त्यसको प्रमुख कारण भाषागत समस्या नै हो। अंग्रेजी,चाइनिज,फ्रेन्च,स्पेनिस वा अन्य विश्वका धेरै मानिसले बोल्ने भाषाबारे नेपाली साहित्यको भाव पक्ष न खल्बलिने गरि भाषानुबाद गर्ने जनशक्तिको कमि छ। त्यसकोलागि साहित्यिक ज्ञान भएको अनुवादक नै आबश्यक हुन्छ। साहित्यिक विधाको अनुबादन कार्य सामान्य भाषा अनुवादकले गर्नै सक्दैनन्। त्यसको लागि साहित्यिक शब्दको भण्डार भएको र भाव पक्षको विज्ञता भएको साहित्यिक ब्याक्ति नै आबश्यक हुन्छ।

त्यसको तयारीमा अनेसासले फ्रेन्च,अंग्रेजी,स्पेनिस लगायत विश्व भाषामा दख्खल राख्ने नेपाली वा अन्य बिद्यार्थीहरुलाई नेपाली साहित्यको अध्ययनको लागि छात्रवृति लगायत अन्य सुबिधाहरुको लागि नेपालको सम्बन्धित निकायलाई दवाव दिनु जरुरि छ। त्यसले अब्बल अनुवादकहरुको उत्पादन गर्ने प्रेरणा प्रदान गर्ने छ। अबको केहि समय पछि अनेसासले त्यो जनसक्ति दिन सक्ला कि ? आशा गर्न सक्ने प्रसस्त ठाउँ छ। मुख्य कुरा साहित्यिक अनुवादक निर्माण गर्ने योजना सहित अनेसासले आफ्नो तात्कालिक र दीर्घकालिक लक्ष किटानी गरेर काम गर्नु पर्यो। नेपालको शिक्षा क्षेत्रका नेतृत्वदायी निकायसंग समन्वय गरेर काम गर्नु पर्यो।

७) तपाई जस्तै लेख्न चाहनेलाई सिक्न चाहनेला के भन्न चाहनु हुन्छ ?

अरु के भन्नु र ! प्रवासमा हामीले बचेखुचेको समय अध्ययनमा लगाउनु पर्यो। बिना अध्ययन अभ्यास र अनुसन्धानको कुरा हुँदैन। अभ्यासले नै मानिसलाई लक्षको नजिक पुर्याउँछ। हामीलाई अध्ययनले तार्किक र बौद्धिक बनाउछ। नयाँ चेतनाको जन्म नभईकन वा नयाँ बिचार नफुरीकन लेख्न सकिदैन। खालि समय भएमा अध्ययन गरौँ र भाषालाई निखारौं। अरु कुरा त्यसपछि क्रमश चेतनाको विस्तारले आँफै पैदा गर्छ।

८) खाली समय कसरी बिताउनु हुन्छ ?

खालि समय नै हुँदैन मेरो। मेरो घरमा आउनु भयोभने थाह हुन्छ,कति अस्तव्यस्त छ मेरो बस्ने ठाउँ ! मैले लेख्न र पढ्न बिर्सेको दिन म बेचैन हुन्छु।

९) तपाईलाई गित,कविता,कथा, नियात्रा र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नु पर्छ ? तपाईले के के लेख्नु भएको छ ?
उपन्यास मेरो सबैभन्दा प्रिय विधा भएपनि अहिले आएर अग्नि महाकाव्यले मेरो माथिंगल हल्लाउंदै छ। मदन पुरस्कार पाएको अग्नि मेरो बिचारमा दर्शन,बिचार र इतिहाँस तिनै कुराको त्रिबेणी जस्तो लाग्यो। एक दलित शिल्पीको सम्पूर्ण मनोदशा र ईतिहाँसदेखिको उन्मुक्तिको चाहको सौन्दर्यमा सिंगारिएको यो कृतिको भव्यताले हाम्रो समाजको बर्ण ब्याबस्थालाई नाङ्गेझार बनाइदिएको छ। समय मिलेसम्म मैले साहित्यका सबै विधाहरु पढ्ने गर्छु। कथा,कबिता र निबन्धहरू पनि मलाई मन पर्छन।

लेखनमा मैले एउटा बिष्फोटन नामक लेख संग्रहमात्र प्रकाशित गरेको छु। मैले २०५३ सालतिर प्रकाशित गरेको त्यो कृति बाहेक अन्य पुस्तक मैले प्रकाशित गरेको छैन। फुटकर कबिता त मैले दुई हजार भन्दा बढी लेखे हुँला। धेरै जसो साहित्यिक पत्र पत्रिकामा प्रकाशित पनि भएका छन्। ‘छापामार बिबाह’ नामक उपन्यास तयार भएको छ भने कथा संग्रह पनि लायार गर्दै छु। मैले कति लेखेँ भन्दा पनि पाठकहरुको दिमागमा छाप छोड्न सक्ने कृति दिन सक्छु कि सक्दिन भन्ने कुराले मलाई पिरोली रहन्छ।

१०) नेपालको शिक्षालाई रोजगार मुखि र २२ र औं सताव्दिको विश्व प्रतिस्पर्दामा लान के गर्नु पर्छ ?

नेपालको शिक्षा पनि दातृ मुलुक र वित्तीय संस्थाहरूको लगानी र सर्तअनुकूल चलिरहेको छ । यसले नयाँ नेपाल बनाउन आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने होइन, विश्वका कुन मुलुकमा कस्तो र कति जनशक्ति आवश्यक छ, त्यसको उत्पादन र पूर्ति गर्ने काम नेपालका स्कुल, कलेज र विश्वविद्यालयहरूले गरिरहेका छन् । शासकहरूको परनिर्भरता र स्पष्ट रणनीतिको अभावमा शिक्षा क्षेत्रमा दिशाविहीन अस्तव्यस्त अव्यवस्थापन र गुणस्तरहीनताले आक्रान्त बनिरहेको छ ।राज्यको दायित्वमा हुनुपर्ने शिक्षा क्षेत्र आज निजीकरण तथा व्यापारीकरणको महामारीले शिक्षा राज्यको दायित्व होइन, आम नागरिकको व्ययभारको वस्तु बनिरहेको छ ।

यसर्थ,शिक्षालाई नेपालको मौलिकतामा लैजानु पर्छ। स्वरोजगार मुलक र आधुनिक टेक्नोलोजीको पूर्ण ज्ञान दिने गरि नेपाली मौलिक भावले ओतप्रोत शिक्षाले नेपाल प्रतिको जिम्मेवारी बोधलाई महसुस गराउँछ। शिक्षाको व्यापारीकरणले शिक्षामा दुई तहका नागरिक उत्पादन गरिरहेको छ। शिक्षा गरिवले पढ्नै नसक्ने भएको छ। त्यसमा शैक्षिक एकरुपताको जरुरि छ। सबै नागरिकहरुमा शिक्षाको पहुँच स्थापित गर्न सरकारले नीतिगत रुपमा ब्याबस्था गर्नु जरुरि छ। नेपालमा हुन सक्ने बिकासका आधारभूत तहको ख्याल गरेर त्यस अनुरुप शिक्षालाई परिमार्जन गर्न सके रोजगार मुखी र प्रतिस्पर्धात्मक जनसक्ति उत्पादनमा देश अगाडी बढ्ने थियो।

११) साहित्यकारले लेखेर बॅाच्न के गर्नु पर्छ ?

कृति गहन र दीर्घकालिक शन्देश दिनेखालको हुनु पर्छ। कृतिले मानव सभ्यताका उत्कृष अभिलाषा जस्तोकि मानबता,न्याय,जैविक अधिकार र समानता जस्ता सन्देश बोकेको छ भने त्यो कृति युगभरि अमर कृति बनेर बाँच्न सक्दछ। नामको लागि मात्र लेखिएका संग्रहहरुलाई कसैले पनि पढ्दैन। साहित्यकार वा लेखक मात्रै भएर बाँच्न त विश्व बजारमा एउटा लेखकीय ब्राण्ड नबनी सम्भव नै छैन। साहित्यिक ब्राण्ड बन्न अथक साधना गर्नु पर्छ। त्यसमा पनि बाँच्ने संघर्षलाई थेग्नु धेरै मुस्किलको कुरा हो। अत साहित्यिक लेखनलाई सहायक बनाएर दैनिक बाँच्नको अर्को काम गर्नु मेरो लागि आबश्यक छ।

१२) तपाईको निरन्तर लेखनको मापदण्ड के हो ?

मेरो लेखनको प्रेरणा नै अध्ययन र अभ्यासको निरन्तरताले हो। अहिले साहित्यिक क्षेत्रमा केहि गर्न सकिन्छा कि ! प्रवाशमा भाषिक उन्नयनको लागि केहि गर्न सकिन्थ्यो कि भन्ने अभिलाषा पैदा भएको छ। अरुलाई के लाग्छ कुन्नि,त्यो पनि साधना कै परिणाम हो भन्छु। जाँगर आउनु,समुदायको सेवामा,बौद्धिक चेतनाको क्षेत्रमा लाग्ने प्रेरणा जाग्नु पनि चेतनाको स्तर उन्नति नै हो। त्यसैले पत्रकारिताबाट सिकेर साहित्यिक लेखनमा छिर्ने प्रेरणा अध्ययनकै कारण सम्भव भएको हो। यसमा समुदायका निथारमा परेका मानिसहरुप्रतिको प्रेमाभाव पनि छ। जुन वर्गको इतिहाँस र साहित्य कहिल्यै लेखिएन।

१३) पाश्चात्य समालोचना र पूर्विय समालोचनामा के भिन्नता छ ? नेपाली समालोचनालाई कसरि हेर्नु भएको छ ?

साहित्यलाई सिर्जना र समालोचना गरी दुई पाटोबाट हेर्ने गरिन्छ।समीक्षा र आलोचना समग्रहलाई समालोचना भन्ने चलन छ। ‘सम’र ‘आलोचना’बाट ‘समालोचना’बनेपछि कृतिको गुण-दोष देखाउने पर्ने हुन्छ । कृतिको अर्थलाई भन्दा शब्द, शैली, बनोट पक्षलाई प्रमुखता दिएर समालोचना गरिन्छ। ईसापुर्व ५ औँ सताब्दीमा पाश्चात्य साहित्यका प्रथम समालोचक एरिस्टोफ़ेनिसले यथार्थता,नैतिकता वा शिक्षा मद्धे यथार्थतामा जोड दिए। पाश्चात्य समालोचनामा पाठकको रुचि र लेखकको लेखकीय स्वरुप बिचको भिन्नता,पाठकपरक समालोचना,अन्यायको खोजि,अनिश्चितताको खोजी, बिनिर्माणबादमा आधारित समालोचना,अल्पबिकसित देशका कृतिमाथिको थिचोमिचोलाई आधार मानियो । जसलाई रुपक,बिम्ब,ऐतिहाँसिक स्वरुप र भाषाको साहित्यिक कृतिमा विश्लेषण,मान्छेका भावनाको अभिव्यक्ति,औपनिवेशिक समालोचना,बन्धन मुक्त समालोचना भनेर पनि बुझ्न सकिन्छ ।

पूर्वीय परम्परामा समालोचनाको मापदण्ड केहि फरक छ सर। पूर्वीय जगत्मा आचार्य भरतमुनि (इसापूर्व प्रथम शताब्दीतिर) लाई पहिलो समालोचकका रूपमा हेर्ने गरिन्छ । उनको ‘नाट्यशास्त्र’लाई पूर्वीय जगत्को प्रथम समालोचनात्मक कृति मान्ने गरिन्छ।नेपाली कविताको माध्यमिक कालमा मोतीराम भट्टद्वारा लिखित ‘कवि भानुभक्त आचार्यको जीवनचरित्र'(१९४८) नै नेपाली साहित्यको प्रथम समालोचनात्मक कृति मानिन्छ ।पुर्बिय समालोचनामा परिवर्द्धन, सम्पादन,अनुवीक्षण,निरीक्षण सम्भव हुने भाष्यकार्य तुलनात्मक अध्ययन र अनुवादविज्ञानको समकक्षीय देखिन्छ।गहन अध्ययन, अनुसन्धान र विश्लेषण गरी नयाँ सिद्धान्तको निर्माण गरिने समालोचनालाई सैद्धान्तिक समालोचना भनिन्छ भने पूर्वनिर्धारित सिद्धान्तका आधारमा कुनै कृतिको विश्लेषण गरी निष्कर्ष निकाल्ने समालोचनालाई व्यावहारिक वा प्रायोगिक समालोचना भनिन्छ । यस्तो समालोचनामा विषय प्रवेश,विषयको तार्किक विश्लेषण र प्रामाणिक निष्कर्षलाई आधार मानेर लेखिन्छ र सन्दर्भ सामाग्री अनिबार्य रुपमा उल्लेख गर्नु पर्ने हुन्छ।

समालोचना बौद्धिक एवम् प्राज्ञिक कार्य हो। यसका लागि द्रष्टामा सैद्धान्तिक ज्ञान हुनुपर्छ,हरेक विधालाई पहिचान गर्न सक्ने क्षमता हुनुपर्छ, कृतिको चुरो पहिल्याउन सक्ने सूक्ष्म दृष्टि हुनुपर्छ । त्यस्तै सिद्धान्त र सिर्जनाका बिचमा तालमेल मिलाउन सक्ने संयोजक क्षमता हुनुपर्छ, समानधर्मी विषय र प्रसङ्गका बिचमा तुलना गर्न सक्ने खुबी हुनुपर्छ, वस्तुता, सत्यता र प्रमाणहरूसँग खेल्न सक्ने तार्किक क्षमता हुनुपर्छ र विश्लेषणको दही मथेर निष्कर्षको घिउ निकाल्न सक्ने शिल्पकारिता पनि हुनुपर्छ । बुझ्ने कुरा के हो भने कृतिको परिचयात्मक प्रस्तुति समालोचना होइन । दोषप्रति आँखा चिम्लिएर गरिने गुणको प्रशंसा पनि समालोचना होइन ।

पुर्बिय दर्शनमा समालोचनामा नियमनको भारि बोकाउनु आधुनिक समालोचनाका हिसावले त्यति राम्रो मानिदैन। तर पनि समालोचनालाई स्वतन्त्र समालोचना भनेर अराजक आलोचनाको कन्टेनर पनि बनाउनु हुँदैन। गुण र दोषको आधारमा समालोचना हुनु नै मुख्य कुरा हो। समालोचनाबारे म बिज्ञ त हैन तर सोधी हाल्नु भएकोले यति कुरा भनेँ।

१४) तपाईलाई बर्तमान समालोचकिय धार कस्तो लाग्छ र अहिलेको साहित्यमा विचार,युग,चेतना र विश्व परिवेश कसरि अभिव्यक्त भएको पाउनु हुन्छ ?

तटस्थता, तथ्यपरकता र विधागत सिद्धान्तका आधारमा गरिएको वस्तुपरक विश्लेषण समालोचनाको शक्ति हो भने प्रभावपरक लेखन, अनावश्यक प्रशंसा वा निन्दा र पूर्ववर्ती महान् स्रष्टाहरूसँगको असमान तुलना यसको सीमा हो ।सम्बन्धित कृति आफन्तद्वारा लेखिएको हो अथवा कुनै जात, धर्म, क्षेत्र, वर्ग, राजनीतिक विचारधारा जस्ता प्रभावक तत्त्वहरूबाट प्रभावित पार्ने खालको हो भने समालोचकले कि त त्यस्तो कृतिको समालोचना नै गर्नु हुँदैन कि त उल्लिखित कुराहरूबाट प्रभावित हुनु हुँदैन। यो मुलभुत कुरामा प्रवाशी सृजनाबारे गरिएको समालोचना धेरै ठाउँमा चिप्लिएको देखिन्छ। तर पनि अहिले समालोचनाले पाश्चात्य शैलीका धेरै गुणहरुलाई पनि पूर्वीय समालोचना विधामा भित्र्याई सकेको छ। यसले साहित्यिक समालोचानालाई अन्तराष्ट्रिय शैलीमा बिकास गर्दै छ। बिकासक्रमको यो गतिशिलता अझै अगाडी बढेर आधुनिक शैलीको ढाँचामा अझै अघि बढ्ने निश्चित छ।

अहिले साहित्यिक धार युगको सृजना गरेको आबश्यकतालाई सम्बोधन नगरी अगाडी बढ्न सक्दैन। अबको साहित्य छोटो र कसिलो आगो बन्ने बाटोमा छ। चेतना नभएको फगत मनोरंजनको लागि लेखिएको साहित्यले आधुनिक वैश्विक पाठकको मन जित्न सक्दैन। अब कबिता सुनेर आनन्द लिने पाठकहरु चुटकिलातिर,कबिता गाउने आकर्षक शैलीतिर जाँदै छन्। कथा अध्ययन गर्ने पाठक स्रोता बन्दै छन्। उपन्यास पर्दा वा युटुबतिरबाट सुन्दै छन्। भन्नाको मतलव आधुनिक व्यस्तताले मानिस आँफै पढ्ने अबस्थाबाट औजारको सहायताबाट सुन्दै छन्। थाह छैन भोलिको साहित्य विधाले कसरि आधुनिक मानिसलाई बौद्धिक खुराक पस्किन्छ।

युग अनुसार साहित्यको सृजना हुन सकेन भने र साहित्यकारले आधुनिक मानबको रुचि र चेतनालाई वास्ता नगरी लेखे भने सृजनाले लेखकलाई नै मेटाइ दिने अबस्था आउन सक्छ । त्यसरी युग र चेतनाको दिशालाई पनि सम्बोधन गरेर साहित्यको सृजना हुनु पर्छ भन्ने लाग्छ। लेखक वा साहित्यकारले वैश्विक राजनैतिक अबस्था संघर्षमय हुँदै गैरहेको बर्तमान अबस्थामा त्यसको समबेदना र भविष्यको मानव आशालाई पनि ख्याल गर्नु पर्छ।

१५) पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो देख्नु हुन्छ ?

तपाइको प्रश्नको आशय बुझिन। पुर्बिय समालोचनाको अबस्थामा समालोचना विधामा सुर्य र्यविक्रम ज्ञवालीको ‘नैवेद्य समालोचना’देखि थुप्रै कितावहरु प्रकाशित भएका छन्। ति पुस्तकहरुको सारलाई लिने हो भने पुर्बिय समालोचनाको धार ठिक ठिकै छ। प्रवाशबाट प्रकाशित हुने नेपाली साहित्यिक कृतिहरुको समीक्षामा अनेसासले प्राज्ञिक समालोचकहरुको बोर्ड बनाएर काम गर्नु पर्ने अबस्था देखिएको छ।सबै कृतिहरुको समालोचना भएको देखिदैन। समालोचनाका आधारभूत मान्यतामा रुचि नराखी कहिँ कतै लेखकलाई धेरै मायाँ गरेको जस्तो पनि देखिन्छ। त्यसले लेखकका सुधार्नु पर्ने कुरालाई फाइदा भन्दा पनि नोक्सान गर्दछ। समालोचनामा कतै आग्रह र पूर्वाग्रह हुनु भएन।

सर्वज्ञ सरले पश्चिमा साहित्यमा समालोचनाको कुरा गर्नु भएको होभने अनुकृतिमूलक समालोचनामा प्लेटो कालीन प्राचीन सौन्दर्य चेतनामूलक समालोचना पर्दछ,सम्प्रेषणमूलक समालोचनामा सिडनी कालीन अनुकृतिलाई व्याख्यात्मक समालोचना पर्दछ,अभिव्यक्तिमूलक समालोचनामा वर्डस्वर्थ कालीन रोमान्टिक समालोचना पर्दछ। त्यस्तै यथार्थबादी धारमा अठारौँ शताब्दीको अन्त्यपछि देखापरेको काव्यात्मक संरचना र तथ्यलाई आधार मानेर गरिने समालोचना पर्दछ। पश्चिमा साहित्यकार संघहरुमा प्राय सृजनाको समिक्षा गर्ने बोर्ड नै हुन्छ।

१६) तपाईका लेखहरूबारेमा प्रष्ट पार्दिनु हुन्छ कि ?

म आँफुलाई एक साहित्यको सिकारु र बिशेषत पत्रकार नै मान्दछु। मैले धेरै लेख,कबिता,कथा र निबन्धहरू लेखे पनि म साधना मै भएकोले आँफुलाई एक अध्ययनशिल पाठक भन्दा माथि राख्दिन। मेरा लेख वा कबिताले कमसेकम समुदायका आबश्यक मुद्धाहरुबारे जानकारी दिउन र चेतनामा भिन्नै छाप छोडोस भन्ने चाहना हुन्छ।

१७ ) डायस्पोरिक साहित्यका बारेमा तपाईको धारणा के छ ?

डायस्पोरा, एक जातीय वा धार्मिक समूहका सदस्यहरू, जन्म स्थानबाट भिन्न स्थानहरूमा फैलिएर बसेका हुन्छन। डायस्पोरा शब्द पुरातन ग्रीक’dia speiro’बाट आएको हो, जसको अर्थ “छर्नु” हो। डायस्पोरा लामो समयदेखि हेलेनिक संसारमा ग्रीकहरू र ईसापूर्व 6 औं शताब्दीको प्रारम्भमा जेरुसेलमको पतन पछि मूल भुमि छोड्न बिबस यहूदीहरूलाई सम्बोधन गर्न प्रयोग गरिएको शब्द हो। सन् १९५० देखि १९६०को दशकको सुरुमा, विद्वानहरूले यसलाई अफ्रिकी डायस्पोराको सन्दर्भमा पनि प्रयोग गर्न थाले, र त्यसपछिका दशकहरूमा यो शब्दको प्रयोग थप विस्तार भयो।

यो शब्दले पहिले मुख्य रूपमा यहूदी अनुभवलाई उल्लेख गरेको थियो। विशेष गरी, यरूशलेम र यहुदीहरुको मन्दिरको विनाश गरेपछि यहूदीहरूलाई आफ्नो मातृभूमिबाट बेबिलोनिया (बेबिलोनियन निर्वासन) मा निष्कासन गरियो। त्यसैले,डायस्पोरा शब्दले यहूदीले गुमाएको आस्थाको धरोहर,सांस्कृतिक क्षेत्र र पहिचान गुमाउनुको पिडाको समेत प्रतिनिधित्व गर्दछ ।

अहिले भारत लगायत विश्वभर रहेका तिब्बती र हिन्द प्रसान्त क्षेत्रमा छरिएर रहेका चिनियाहरुलाई पनि डायस्पोरा भन्न थालिएको छ । आप्रबासी भारतीयहरुको सन्दर्भमा पनि डायस्पोरा शब्दको प्रयोग गर्न थालिएको छ। “जहाँ समुद्रका छालहरूले छुन्छ, त्यहाँ विदेशी चिनियाँहरू छन्” भन्ने भनाइले आप्रबासी चिनियाहरु पनि डायस्पोरा हुन् भन्ने कुरातर्फ संकेत गरेको देखिन्छ।

मेरो बिचारमा,पहिचान र जीवनको संकटले आफ्नो संरक्षित क्षेत्रबाट भागेर सांस्कृतिक पहिचानको सम्पूर्णतामा पुस्तौँ पुस्ता प्रवासमा बिताएको समूह नै डायस्पोरा हो। त्यो समुहले आफ्नो अनुभूतिको आधारमा सृजना गरेको साहित्य नै बास्तविक डायास्पोरिक साहित्य हो।

त्यसैले नेपालबाट स्वेच्छाले परवा छिरेको नेपालीको पहिलो पुस्ता डायस्पोरा हैन भन्ने तर्कसँग म सहमत छु। यसर्थ उनीहरुले लेखेको साहित्य पनि प्रवासी वा आप्रवासी साहित्य हो भन्न सकिन्छ।

१८) लेखनमा निखार ल्याउन चाहनेलाई के सुझाव दिन चाहनु हुन्छ ?

लेखनमा निखार ल्याउन सर्व प्रथम,लेखन कला,सन्दर्भ र बिषयबस्तुबारे आधारभूतरुपले अध्ययन गर्नु जरुरि हुन्छ। लेख्ने बिषय वा विधाको छनौट पछि “शैलीगत तत्वहरू”मा ख्याल गर्नु पर्छ। लेखनलाई अभ्यासगत पेशा जस्तो बनाउने संकल्प गर्नु पर्छ।

यसको लागि बिषय विज्ञहरुसंग बहस गर्नु,आफ्ना लेखहरुबारे प्रतिक्रियाको माग राख्नु,लेखको निर्ममतापूर्वक सम्पादन गर्नु,दिमागलाई बिषयमा केन्द्रित गर्नु आदि कुराहरु पर्दछन। लेखनमा निखार ल्याउन मुख्यतया अध्ययन,लेखन अभ्यास र सम्पादन नै मुख्य हुन्।

१९) अन्तराष्ट्रिय साहित्य समाजमा यहॅाको ठूलो योगदान छ।यो संस्थालाई अझ प्रभावकारि बनाउन के गर्नु पर्ला ?

मेरो यो संस्थाको योगदानमा प्रसंसा गर्ने पर्ने ठाउँमा पुगिसकेको जस्तो लाग्दैन सर। कृष्ण बजगाई,बिमल गिरि लगायत अनेसास बेल्जियमका अग्रजहरुले यो संस्था जन्माउने काम गर्नु भयो। दिपेन्द्र केशी,परमानन्द सापकोटा, राजकुमार पुडासैनी लगायतले अनेसासलाई हुर्काउने काम गरे। अहिले सोफिया महर्जन कार्की, ब्रह्म वाग्ले दाजु,नारायण अधिकारी, निलम घिमिरे सापकोटा, रीना शाही, रुविना शर्मा, नरेन्द्र अधिकारी, शशी काफ्ले रेग्मी लगायत सम्पूर्ण शिक्षक/शिक्षिकाहरू भाषा अभियानमा जोडिनु भएको छ। उहाँहरु छिट्टै अनेसासमा पनि जोडिनु हुन्छ। उहाँहरु सबैको त्यागलाई हामीले सम्मान गरेका छौँ। योगदान र त्यागका हिसावले सम्मानको हकदार उहाँहरु हुनुहुन्छ।

यो सँस्था बास्तवमा प्रवाशका साहित्यकारहरुलाई संगठित गर्ने सवालमा गठन भएजस्तो लाग्छ। अब यसको दायित्व स्थापनाकाल भन्दा धेरै बढेर भाषा संस्कृति र साहित्यको अन्तरसम्बन्धको गहनतामा पुगेको छ।

यी तिन कुराहरुमद्धे भाषा पहिलो हो। बिशेष गरि हाम्रो साहित्यमा लेखिने भाषा नेपाली होभने लेखिएको साहित्य पढ्ने पाठकले हो। यसर्थ साहित्यका सर्जकहरुको पाठकसंग सिधा सम्पर्क हुन्छ। सृजना पढ्ने पाठकहरु नै उक्त कृतिका निर्णायक तत्व हुन्। अत सृजना तबसम्म जीवित रहन्छन जबसम्म उक्त सृजना पढ्ने पाठक जीवित रहन्छन। त्यसैले आफ्नो साहित्यिक कृतिलाई अमर बनाउन सर्जकहरुको संगठन अनेसासले भाषा जीवित राख्ने उपाएलाई पहिलो प्रार्थमिकता दिनु पर्छ। नेपाली भाषाको पढाइलाई आफ्नो समुदाय रहेको एकल घरसम्म सुचारु गराउन प्रेरणा प्रदान गर्नु पर्छ।

राष्ट्रिय पुस्तकालयमा प्रवाशी साहित्य वार्ड अलग्गै राख्न दवाव दिनु पर्छ। प्रत्येक शाखाहरुको अनुगमन पद्दतिको बिकास गर्दै भाषा शिक्षकहरुलाई केन्द्रले पुरस्कार,सम्मान र मानार्थ सदस्यताको ब्याबस्था गर्नु पर्छ। आबश्यक पर्यो भने स्वयंसेवी शिक्षकहरुलाई अनेसास भाषा दुत घोषणा गर्नु पर्दछ। जे जसरि भएपनि भाषा स्कुललाई सुचारु गराउन प्रेरणा प्रदान गर्नु पर्दछ।

२०) अन्त्यमा मैले सोध्न बिर्सेको र स्वयं तपाईलाई भन्न मन लागेका कुनै कुराहरू छन् भने भन्न सक्नु हुन्छ ?

सर्व प्रथम त मेरो साहित्यिक कुराकानीलाई महत्व दिने साहित्यिक पत्रकार सर्वज्ञ वाग्ले सर र साहित्यकारहरुको लोकप्रिय अनलाइन ओएसनेपाल प्रति आभार प्रकट गर्दछु। प्रवाशको नेपाली समुदाय र भाषा साहित्यको उत्थानमा लागेका अनेसासका संस्थापक,पुर्व नेत्रित्वहरू र बर्तमान नेतृत्वलाई मेरो एउटा मात्र आग्रह छकि संस्थागत नीति र योजना बनाएर सर्वप्रथम भाषा बँचाउने अभियानमा लागौँ। भाषा बाँच्यो भने हाम्रो संस्कार,संस्कृति र नेपाली सभ्यताका सबै गुणहरु बाँच्न सक्छन। समुदाय बिच हाम्रो भाइचारा बचाउन र बधाउनलाई भाषा, साहित्य र कलालाई बचाउनु पर्छ । भाषा, साहित्य र कला जीवित रहेसम्म मात्र राष्ट्रियता तथा मानव सभ्यता जीवित रहन्छ । त्यसको लागि घर घरलाई नेपाली लिपि सिक्ने र बोल्ने पाठशाला बनाउनु जरुरी छ । भोलि प्रवाशमा गृह युद्ध वा युद्ध नै भयोभने पनि हाम्रा सन्ततिहरु भाषालाई आधार बनाएर मुलुक फर्किन र सजिलै समायोजन हुन सक्छन। भाषा,हाम्रो भाषा र फेरिपनि नेपाली भाषालाई पहिलो नम्बरमा राखेर नीति निर्माण होस्। नेपाली भाषा अभियानमा आजै ध्यान नदिने हो भने प्रवाशमा भोलिका नेपाली पुस्ताको अबस्था फिजीका नेपालीको अबस्था जस्तै हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर