संरक्षित वन्यजन्तुको छालासहित काठमाडौँबाट दुई जना समातिए — OSNepal

संरक्षित वन्यजन्तुको छालासहित काठमाडौँबाट दुई जना समातिए

LC (KTM) July 10, 2021 0

काठमाडौँ-संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला) सहित दुईलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित पिपलबोटबाट पक्राउ पर्नेमा यहाँस्थित गोठाटार बस्ने २८ वर्षीय सविन तामाङ र रामेछाप लिखु गाउँपालिका–५ नागदह घर भई भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय हितबहादुर मगर रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट संरक्षित वन्यजन्तुको छाला र सालकको छाला तथा खपेटा बरामद गरिएको व्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि आजै डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौँमा पठाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार उक्त कसुर प्रमाणित भएमा पाँचदेखि १५ वर्ष कैद तथा पाँच लाखदेखि १० लाखसम्म जरिवाना हुने व्यवस्था छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर