चौथो पटक म्याद थपेपछि गति लिँदै भेडेटार–रवी–राँके कालोपत्र सडक — OSNepal

चौथो पटक म्याद थपेपछि गति लिँदै भेडेटार–रवी–राँके कालोपत्र सडक

LC (KTM) March 01, 2023 0

धनकुटा-निर्माण अवधि पूरा भएको समयावधिमा १६ प्रतिशत मात्र काम पूरा गरेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिन थालेको छ ।एक्जिम बैंक भारतको रु तीन अर्ब २६ करोड सहुलियत ऋण कर्जामा धनकुटाको भेडेटारबाट पाँचथरको राँकेसम्म निर्माणाधीन कालोपत्र सडकको चौथो पटक म्याद थपेसँगै कामले गति लिएको हो ।

एक सय किलोमिटर कालोपत्र सडक निर्माणका लागि २०७५ माघदेखि २०७८ माघसम्ममा काम सक्ने जिम्मा भारत लखनऊको एप्को इन्फाटेक इन्डियाले गत मङ्सिरमा विसं २०८१ मा काम सक्ने थप म्याद पाएको छ ।थप म्यादपछि दु्रतगतिमा काम थालेको एप्कोले गत माघ महिनासम्ममा आफ्नो कामको प्रगति २२ प्रतिशत पु¥याएको आयोजनाको जिम्मा पाएको सडक सुधार तथा विकास आयोजना कार्यालय पाँचथरका इन्जिनियर शरद पाण्डेले जानकारी दिनुभयो ।

“अहिले कम्पनी आफैँ आएर काम गरिरहेको छ”, पाण्डेले भन्नुभयो, “यही गतिमा काम भए तोकिएकै समयमा काम पूरा हुन्छ ।” मुख्य निर्माण कम्पनीले काम दिएको भारतकै सहायक कम्पनीले काम नगर्दा समयमा काम पूरा नभएको पाण्डेले जानकारी दिनुभयो ।

आयोजना सम्पन्न गर्ने क्रममा प्रक्रिया मिलाउन करिब दुई वर्ष लागेको तथा साथमा कोभिड र जिम्मा दिएको कम्पनीले समेत काम नगर्दा समयमा आयोजना पूरा हुन नसकेको एप्कोका प्रमुख अभिताभ होसको भनाइ छ ।

बाँकी कामको जिम्मा आफ्नै कम्पनीको निगरानीमा हुने भएकाले थप भएको समयमा आफ्नो कम्पनीले काम पूरा गर्ने होसको भनाइ छ । तराईको पूर्व–पश्चिम महेन्द्र राजमार्गको मापदण्डमा ११ मिटर चौडा बन्ने उक्त राजमार्गको पूर्वप्रधानमन्त्री केपी ओलीले शिलान्यास गरी काम सुरु भएको थियो ।

सडक निर्माण सम्पन्न भएपछि धनकुटा, पाँचथर, इलाम र ताप्लेजुङलाई सुनसरी, मोरङ र झापा जिल्लाले जोडिँदा उक्त क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर