विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा पनि निर्णय हुन नसकेपछि सडनडेथबाट निर्णय लिइएको थियो । सडनडेथमा एपिएफले बंगलादेशी टोलीलाई ९–८ ले पराजित गरेको थियो । सडनडेथमा काउवार्नका औङ गोल गर्न चुकेपछि पराजय व्यहोर्नुप¥यो । उनको प्रहारलाई एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाएका थिए ।
जितसँगै एपिएफले फाइनल प्रवेशका लागि मछिन्द्र क्लबसँग आइतबार खेल्नेछ । खेलमा सुरुवाती अग्रता भने काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशले लिएको थियो । खेलको २१ औँ मिनेटमा बंगलादेशका साएरले गोल गरे । उनले पेनाल्टी एरियाबाट गरेको प्रहारले जाली चुमाएको थियो ।दोस्रो हाफपछि एपिएफ आक्रमक बन्यो ।
७२ औँ मिनेटमा युवराज खड्काले गोल गर्दै खेललाई बराबरीमा फर्काए । काउवार्नका गोल किपर कोबिजबाट रिवाउन्स भएको बललाई उनले गोलमा परिणत गरे । शुक्रबारको खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । शनिबारको पहिलो सेमिफाइनल खेल संकटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।