कोरिया जान भाषा सिक्दै आमाहरू — OSNepal

कोरिया जान भाषा सिक्दै आमाहरू

LC (KTM) February 14, 2023 0

फिदिम-  पाँचथर फिदिमकी २८ वर्षीय सरु मगर झिसमिसे उज्यालो नहुँदै कोरियन भाषा सिक्न सिकाइ केन्द्र पुग्नुहुन्छ। सात वर्षीया छोरीकी आमा सरु भाषा सिकेर कोरिया जाने सपना बुन्दै घरधन्दा, बालबच्चा र घर व्यवहार धान्दै तालिम केन्द्र धाउन थाल्नुभएको हो।

सात वर्षीया छोरीकै आमा बिन्दु लिम्बू (२६ वर्ष) पनि भाषा सिक्न बिहान ६ बजे फिदिमको सेवारो कोरियन भाषा केन्द्रमा पुग्नुहुन्छ। स्नातक तहसम्म अध्ययन गरेकी लिम्बू नेपालमा रोजगारीको सम्भावना नदेखेर कोरियन भाषा पढ्न थाल्नुभएको हो।

उहाँले घरव्यवहार धान्नकै लागि श्रीमान् खाडी मुलुक गएको बताउनुभयो। भाषा परीक्षा पास भए छोरीलाई माइतमै छोडेर कोरिया जाने योजनामा हुनुहुन्छ उहाँ।

बिन्दुले भन्नुभयो, “यहाँ जति दुःख गरे पनि सम्भावना छैन, एक पटक कोरिया छिर्न पाए एक पुस्ता पुग्ने कमाइएला भनेर यतातिर लागेँ।” कोरियाको चक्करमा रहेकी सरु मगरका पति वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएको पाँच वर्ष भयो। “अहिले कार्यरत कम्पनीमा सोचेजस्तो कमाइ नभएपछि भाषा पढेर कोरिया जानुस् भन्दा म पास गर्न सक्दिनँ तिमी पढेर जाऊ म आएर छोरी र व्यवहार सम्हाल्छु भनेपछि इन्स्टिच्युट धाउन थालेकी हुँ,” सरु भन्नुहुन्छ।

पाँचथरको फिदिममा सञ्चालन भइरहेका कोरिया भाषा सिकाइ केन्द्रहरूमा भेटिने सरु र बिन्दु वैदेशिक रोजगारीको चक्करमा रहेका महिलाको प्रतिनिधि पात्र हुनुहुन्छ।यहाँ सञ्चालित पाँचवटा सिकाइ केन्द्रमा भाषा पढ्नेहरूको लाममा भेटिने १७ देखि ३५ वर्ष उमेर समूहका महिलामध्ये प्रायः नेपालमा रोजगारी नपाइने र पाइहाले घरव्यवहार धान्नै कठिन हुने देखेर यसतर्फ आकर्षित भएको बताँउछन्।

फिदिमको एक लघुबित्त कम्पनीमा काम गरिरहेकी २२ वर्षीय अल्का लिम्बू यहाँको आम्दानीले पेट पाल्नै मुस्किल परेकाले कोरियन भाषा सिक्न सिकाइ केन्द्र धाउन थालेको बताउनुहुन्छ।
“रोजगारदाता वित्तीय संस्थाले दिएको लक्ष्य पूरा गर्न रातोदिन खट्छु, महिना मर्दा पाएको पारिश्रमिकले व्यवहार धान्नै कठिन, रोजगारीका अरू सम्भावना छैनन्, विदेश नगएर के गर्ने रु” उहाँले भन्नुभयो।फालेलुङ–२ की १७ वर्षीया अम्बिका अधिकारी पनि कोरियन भाषा सिकिरहनुभएको छ। सिद्वकाली मावि कक्षा १२ मा अध्ययनरत उहाँ तीन महिनादेखि सदरमुकाममा डेरा लिएर बिहान कोरियन भाषा र दिउँसो विद्यालयको कोर्स ट्युसन पढ्नुहुन्छ।

गाउँठाउँका अग्रज धेरै पढेलेखे पनि जागिर नपाएर भौँतारिनुपरेको, सानोतिनो जागिरका लागि पहुँचमा भएका नेता र आफन्त गुहार्नुपरेको देखेर बेलैमा विकल्प खोज्न थालेको उहाँले बताउनुभयो। बीएड तेस्रो वर्षमा अध्ययनरत पाँचथर हिलिहाङ–७ की माङसा लावती भने परिवारभित्रका अरू सदस्यले कोरियामा राम्रो कमाइ गरेको देखेर त्यसतर्फ आकर्षित भएको बताउनुहुन्छ।गोर्खापत्रमा खबर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर