कोरियाको रोजगारीपछि नेपालमा ३८ रोपनी जमिनमा मेवा खेती गर्दै जनकलाल — OSNepal

कोरियाको रोजगारीपछि नेपालमा ३८ रोपनी जमिनमा मेवा खेती गर्दै जनकलाल

LC (KTM) February 11, 2023 0

रामेछाप, माघ २८ गते । रामेछापको खाँडादेवी गाउँपालिका–८, कालेमानेका जनकलाल तामाङ रोजगारीका लागि सात वर्ष दक्षिण कोरिया बस्नुभयो । कोरियामा रोजगारी गर्दा तामाङले साढे दुई लाख रुपियाँसम्म कमाउनुभयो । सात वर्षको रोजगारीपछि नेपाल फर्कनुभएका तामाङको विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण भिसा नै रद्द भयो । त्यसपछि उहाँ फेरि कोरिया जान सक्नुभएन ।

कोरियामा मासिक साढे दुई लाख रुपियाँसम्म कमाइ भइरहे पनि कोरोनाका कारण तामाङ नेपालमा बेरोजगार बन्नुभयो । त्यसपछिको एक वर्षभन्दा बढी समय उहाँको रोजगारीको खोजीमै बित्यो तर उहाँले भनेको जस्तो रोजगारी कतै पाउनुभएन । त्यसपछि उहाँको मनमा आफूसँग भएको केही रकम लगानी गरी आफ्नै माटोमा कृषि कर्म गर्ने योजना फु(यो र उहाँले आफ्नै जग्गामा व्यावसायिक मेवा खेती सुरु गर्नुभयो ।

विभिन्न चुनौती सामना गर्दै आफ्नो योजनाअनुसार तामाङले मेवा खेती सुरु गर्नुभएको दुई वर्षभन्दा बढी भइसक्यो । उहाँले आफ्नो र दाजुभाइको भाडामा लिएको सहित अहिले ३८ रोपनी जमिनमा व्यावसायिक मेवा खेती गर्नुभएको छ । अहिले फेरि ३० रोपनी जमिनमा मेवा खेती विस्तार गर्ने योजनाअनुरूप उहाँले बारी बनाउँदै हुनुहुन्छ ।

मेवाको बजार पनि राम्रो रहेकाले यसको व्यावसायिक रूपमा खेती गर्ने योजनाअनुसार दुई पटक गरी पाँच हजार बिरुवा लगाइएकोमा अहिले उत्पादन दिने तीन हजारभन्दा बढी बिरुवा रहेको उहाँले बताउनुभयो ।

अहिले तामाङको मेवा बगैँचामा रहरलाग्दा मेवा लटरम्मै फलेका छन् । उहाँले भन्नुभयो, “लगानीकै क्रममा रहेकाले अहिले नै मेवा खेतीबाट आम्दानी लिने बेला भइसकेको छैन । यो वर्ष १० हजार किलो मात्रै मेवा बेच्न सकियो, यसलाई लगानीअनुसारको आम्दानी के भन्नु ।”

तामाङको बगैँचामा लगाइएको एउटा मेवाको बोटमा ३० देखि ४० केजीसम्म उत्पादन हुने गरेको छ । “रोग कीराले सताएन, राम्रो भयो भने रोपेको वर्ष एउटा बोटबाट ३५ देखि ४० किलोसम्म उत्पादन हुन्छ । त्यसपछि तीन वर्षसम्म उत्पादन बढ्दै जान्छ । उत्पादित मेवा बारीबाटै ४० देखि ५० रुपियाँ प्रतिकेजी बिक्री हुन्छ,” उहाँले भन्नुभयो ।

मेवा खेतीमा अहिलेसम्म तामाङले ३५ लाख रुपियाँभन्दा बढी रकम लगानी गरिसक्नुभएको छ । उत्पादित मेवा बिक्रीका लागि अहिलेसम्म बजारको समस्या नभए पनि बिचौलियाका कारण किसान मारमा पर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “किसान बिचौलियाका कारण मारमा छन् । किसानसँग ४० रुपियाँमा किनेको मेवा बिचौलियाले खुलेआम १२० रुपियाँमा बजारमा बेचिरहेका छन् । यसको नियन्त्रण तथा नियमनमा कसैको ध्यान जान सकेको छैन ।” तामाङले गरेको मेवा खेतीबाट स्थानीय दुई जनाले रोजगारी पाएका छन् । गोर्खापत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर