दाताकै भरमा चेपाङबस्ती,न रोजगार छ न खेती गर्ने जमीन, अवस्था निकै दयनीय — OSNepal

दाताकै भरमा चेपाङबस्ती,न रोजगार छ न खेती गर्ने जमीन, अवस्था निकै दयनीय

LC (KTM) July 08, 2021 0

नवलपुर, असार २४ गते । चितवन राष्ट्रिय निकुञ्जले भरिएको माडी नगरपालिका । निकुञ्जले चारैतिरबाट घेरिएको चितवनको क्षेत्र नं ३ मा पर्ने माडी नगरपालिकामा बर्सेनि खहरे खोलाले दुःख दिइरहन्छ । यस नगरपालिकाको परुई खोला किनारमा रहेको चेपाङ बस्ती राहतकै भरमै बाँचिरहेको छ । करिब ५५ घरपरिवार रहेको यो गाउँको अवस्था निकै दयनीय छ । विभिन्न सामाजिक सङ्घसंस्था तथा व्यक्तिले दिएको राहतको भरमा यहाँका अधिकांश चेपाङ परिवारको गुजारा चलिरहेको छ । केही परिवारका सदस्यले मात्र मौसमी मजदुरी गर्दै आएका छन् ।

गरिबीको परिभाषा परुई खोला किनारको चेपाङ बस्तीमा पुग्दा थाहा हुन्छ । गाउँका ५५ परिवारकै स–साना छाप्रा छन्, जहाँ उनीहरुले घाम र पानीबाट आफूलाई जोगाउनुपर्ने बाध्यता छ । एउटा सानो झुपडीमा पाँच÷सात जना बसिरहेका हुन्छन् । यो गाउँमा न बिजुली बत्ती छ न अन्य कुनै भौतिक पूर्वाधारको विकास । न खेती गर्ने जग्गा/जमीन, न त किनेर खाने आम्दानी नै । सङ्घसंस्थाले गरेको सहयोगकै भरमै यो बस्तीका मानिस बाँचिरहेका छन् ।

विभिन्न सामाजिक सङ्घसंस्था तथा दाताहरुबाट प्राप्त खाद्यान्नकै भरमा गुजारा चलेको छ परुई खोला किनारका चेपाङ समुदायको । राहत पाउँदा यहाँका चेपाङको अनुहारमा खुशी देख्न सकिन्छ, अघिपछि फेरि अवस्था उस्तै हो । खाद्यान्न वितरणका दिन चेपाङ बालबालिकाहरु “आज त टन्न चामलको भात खान पाइने भयो”, भन्दै एक अर्कासँग भलाकुसारी गर्दै खुशी साटिरहेका देख्न सकिन्छ ।

खोलाले विस्थापित गरेपछि खोला किनारमै-दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको कुसुम खोलाबाट विस्थापित भएर आएकाहरु यो बस्तीमा छन् । निकुञ्जले वन क्षेत्रको जग्गामा बस्ती नराख्न भनेको थियो । त्यसपछि माडी नगरपालिकासँगको समन्वयमा बस्ती विस्थापित गराउने निर्णय भयो । विसं २०७६ मा निकुञ्ज, नगरपालिका र राष्ट्रपति तराई चुरे कार्यक्रमबीच सहमति भई उनीहरुलाई विस्थापित गराउने निर्णय भएको थियो ।

उनीहरुलाई दुई कोठाको घर बनाइदिने र जीविकोपार्जन गर्न पनि सहयोग गर्ने आश्वासनसहित माडी नगरपालिकाले विस्थापित गराएको थियो । कुसुम खोलाबाट विस्थापित हुन केही चेपाङ परिवारले सहजै स्वीकार गरेका थिए भने केहीले अटेर गरेका थिए । त्यतिबेला अटेर गर्ने परिवारलाई निकुञ्जले विस्थापित गराउन निकै जोडबल गर्नुपरेको थियो । चेपाङ परिवारले बस्न बनाएका टहराहरु निकुञ्जले हात्ती लगाएरसमेत भत्काएको थियो ।

विस्थापित गराएर नगरपालिकाले परुई खोला, राई डाँडा, स्कूल डाँडा, खरिकुना, इन्द्रबस्तीलगायतका क्षेत्रमा एक कट्ठा जमीनमा एउटा परिवार राख्यो । चेपाङलाई निकुञ्जको जग्गाबाट विस्थापित गराएर नगरपालिकाले पुनः निकुञ्जकै जग्गामा ल्याएर राखेको थियो । कुसुम खोलामा दुई दशकदेखि चेपाङहरु बस्दै आएका थिए । दुई दशकपछि उनीहरुलाई विस्थापित गराइएको हो ।

विस्थापित गराउने भनेपछि केही चेपाङ परिवार आफैँ शुरुमै परुई खोलामा आएर बसेका माडी नगरपालिकाले जनाएको छ । त्यसपछि अरु परिवालाई पनि त्यहाँ ल्याइएको नगरपालिकाको भनाइ छ । बस्ती विस्थापित गरिएपछि नगरपालिकाले दुई कोठासहितको घर बनाउन लागि प¥यो ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्ती बसाउन लागिएको र घर बनाउन रुखहरु काटेर अपचलन गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत प¥यो । ‘राष्ट्रप्रेमी जनसमुदाय माडी नगरपालिका’ को नाममा परेको उजुरीमा चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाका प्रमुखसमेत आर्थिक प्रलोभनमा परेर वन फँडानीमा सहभागी भएको आरोप लगाइएको छ ।उजुरी परेपछि निकुञ्जले बस्ती निर्माणमा रोक लगाएको छ । निकुञ्जलाई थाहै नदिई फेरि निकुञ्जकै जग्गामा बस्ती बसाउन लागिएको भन्दै निकुञ्जले मध्यवर्ती क्षेत्रमा घर बनाउन र पूर्वाधार विकास गर्न नदिने भनेको छ ।

विस्थापितलाई खानाकै समस्या-विस्थापित भएर आएदेखि नै चेपाङ गाउँमा खानाको समस्या परेको छ । कुसुम खोलामा वर्षभरि पुग्ने गरी अन्नबाली उब्जाउने गरिएको भए पनि परुई खोलामा खेती गर्ने ठाउँ नभएको चेपाङले बताएका छन् । परुई खोलाकी कल्पना चेपाङले खेती लगाउने जग्गा नहुँदा निकै समस्या भएको बताउनुभयो । “कुसुम खोलामा बस्दा घाँसपानीको सहजता थियो”, उहाँले भन्नुभयो, “उता मकै, धान तथा अरु बाली पनि खेती गर्न पाइन्थ्यो खान समस्या थिएन । यता आएपछि खान समस्या भएको छ । खेती किसानी लगाउने जग्गा जमीन छैन ।”

धानको खेती हुने समयमा मेलापात गर्न हिँड्दाबाहेक अरु बेला केही काम नभएको उहाँले बताउनुभयो । यस्तै कहिलेकाहीँ खोलामा तटबन्ध गर्न ल्याइएको जाली बुन्ने काम गरेर अलिअलि आम्दानी गर्ने र त्यसैले किनेर खाने गरेको उहाँले बताउनुभयो । “कहिलेकाहीँ काम पाउँदा त किनेर खान पुग्छ”, उहाँले भन्नुभयो, “हामीलाई धेरै सङ्घसंस्थाले सहयोग गर्छन् । अरुबेला हामी त्यही खाएर जीवन निर्वाह गरिरहेका छौँ ।”

यस्तै सोही गाउँकी साइँलीमाया चेपाङको व्यथा पनि कल्पनाको भन्दा फरक छैन । “माथि कुसुम खोलामा बस्दा आफ्नै खेतमा कोदो, धान लगाइन्थ्यो । खानाको समस्या थिएन”, उहाँले भन्नुभयो, “अहिले यहाँ परुई खोलामा चाहिँ बालबालिका पढाउन र उपचार गर्न सजिलो हो तर खाना पाउन गाह्रो भइरहेको छ ।” एक कोठे झुप्रोमा चार जनाको परिवार बस्दै आएको उल्लेख गर्दै उहाँले अहिले एउटा संस्थाले दिएको बाख्रा पालेर बसेको बताउनुभयो ।

यस्तै एक कोठे झुप्रोमा पाँच जनाको परिवार बस्दै आएका चन्द्रबहादुर प्रजाले पनि उस्तै कुरा सुनाउनुभयो । उहाँले भन्नुभयो, “कुसुम खोला अन्नपानीको लागि धेरै ठीक थियो । बिरामी हुँदा अस्पताल आउन गाह्रो हुन्थ्यो । जे भए पनि अब हामी परुई खोलामै बस्न चाहन्छौँ । नेताहरुले जुन वाचा गरेर हामीलाई यहाँ ल्याएका थिए त्यो पूरा गरिदिनुपर्छ ।” उहाँले कहिलेकाहीँ मेला गएको दिनमा कमाएको पैसाले किनेर खाने गरेको र अरु बेला सहयोगी संस्थाकै भर पर्नुपरेको बताउनुभयो ।

उहाँहरु परजीवी जस्तो बन्नुभयो-माडी–७ का वडाध्यक्ष बालकृष्ण सापकोटाले निकुञ्जका कारण चेपाङको बिजोग अवस्था देख्दा पनि केही गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अति विपन्न चेपाङ परिवार खोला किनारमा छ । उब्जनी गर्न जग्गा छैन । एउटा समान्य झुपडीमा बसिरहेका छन् । हामीले यस गाउँलाई केही गर्नुपर्छ भनेर नगरपालिकामार्फत पोल ल्याएर घर बनाउन लाग्यौँ । तटबन्ध गर्न जाली ल्यायौँ तर उहाँहरुलाई घर बनाइदिन निकुञ्जले दिएको छैन ।”

“नगरपालिकाले यहाँ रहेका ५५ घर नै बनाइदिने भनेको थियो । हामीले भनेअनुसारको काम शुरु गर्दा निकुञ्जका कारण उनीहरुको बनाउन पाइएको छैन”, वडाध्यक्ष सापकोटाले भन्नुभयो । गत वर्ष तटबन्ध गर्न निकुञ्जले रोकेको भए पनि यस वर्ष भने तटबन्ध गर्न अनुमति पाइएको भन्दै उहाँले खोलामा तटबन्धको काम जारी रहेको बताउनुभयो । “राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र निकुञ्जसँग धेरै हारगुहार ग¥यौँ । घर नबनाए पनि खोलामा तटबन्ध त गर्न दिनुस् । खोलाले चेपाङ गाउँलाई नै बगाउन दिन त भएन नि”, उहाँले भन्नुभयो, “धेरै आग्रह गरेपछि तटबन्धन गर्न अनुमति पाएपछि काम शुरु गरेका हौँ ।” खोलाको छेउमै रहेको बस्ती बाढीको उच्च जोखिममा छ ।

“विपन्न बस्ती भएकाले पटकपटक चेपाङलाई राहत दिन सामाजिक सङ्घसंस्था आइरहेका छन् । सबैको आँखा परेको छ”, वडाध्यक्ष सापकोटाले भन्नुभयो, “तर हामीले सोचेका छौँ । उहाँहरुलाई जीविकोपार्जन गर्ने स्थायी स्रोत हुनुपर्छ । उहाँहरुलाई जग्गा किनिदिएर वा भाडामा दिएर व्यावसायिक कृषिमा लगाउने कि, बाख्रापालन गर्न लगाउने भन्ने सोच छ ।”

“पन्ध्र दिनमा एउटा संस्था आयो केही दियो खायो । फेरि अर्काे आउँछ । उहाँहरु परजीवीजस्तो बनिरहनुभएको छ”, वडाध्यक्ष सापकोटाले भन्नुभयो, “यो बस्ती राख्न यहाँ सकिन्छ कि सकिन्न निकुञ्जले के गर्छ भनेर हामीले कुरा उठाएका छौँ । बस्ती स्थायीरुपमा यहीँ बस्छ भन्न सकिने अवस्था छैन । त्यसैले यहीँ राख्ने कि अन्त लगेर स्थायीरूपमा राख्ने भनेर हामी लागेका छौँ ।”

निकुञ्ज भन्छ– खाली जमीन वनक्षेत्र हो-कुसुम खोलाबाट बस्ती विस्थापित गराउनुपर्छ भन्नेमा माडी नगरपालिका पनि रहेको नगरपालिकाका उपप्रमुख ताराकाजी महतोले बताउनुभयो । उहाँका अनुसार जङ्गलबीचको कुुसुम खोलामा हुँदा शिक्षा, स्वास्थ्य सुविधा दिन नसकिने भएकाले नगरपालिकाले पनि विस्थापित गराउन खोजेको थियो । विस्थापित गराउने तयारी गर्दैगर्दा निकुञ्जले अनावश्यक दबाब दिएर बिना योजना बस्ती विस्थापित गराउन बाध्य पारेको महतोले बताउनुभयो ।

“चेपाङहरु बस्ती नजिकको खाली जग्गामा बसेका छन् तर निुकञ्जले जता खाली छ उतै वनक्षेत्र हो भन्न थालेको छ”, उहाँले भन्नुभयो, “जङ्लगभित्र पनि निकुञ्जकै जग्गामा थिए । अहिले बस्ती नजिकको खाली जग्गामा बसाउन खोज्दा पनि निकुञ्जले मानिरहेको छैन ।” जङ्गलभित्र भन्दा बाहिर बस्दा चेपाङले जङ्गलमा धेरै कम क्षति पु¥याएको बताउँदै उहाँले यसलाई निकुञ्जले बुझ्नुपर्ने बताउनुभयो । उहाँले मध्यवर्ती क्षेत्रमा बसेका चेपाङ बस्तीका लागि कुनै पनि विकास निर्माणका काम गर्न निकुञ्जले नदिएको बताउनुभयो ।

उनीहरुको खाद्यान्न समस्या समाधान गर्न नगरपालिका गम्भीर रहेको महतोको भनाइ छ । अहिले नगरपालिका र विभिन्न सङ्घसंस्थामार्फत बाख्रा वितरण गरिएको बताउँदै उपप्रमुख महतोले बाख्रापालनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । यदि निकुञ्जले अनुमति दिएमा घर निर्माणसँगै अन्य पूर्वाधार विकास गर्न नगरपालिका तयार रहेको उहाँको भनाइ छ । “खाली जग्गा जति सबै निकुञ्जले मेरो हो भन्न थालेको छ”, महतोले भन्नुभयो, “चेपाङ बस्तीलाई स्थायीरूपमा कहाँ राख्ने भन्नेमा नगरपालिका अझै अन्योलमा नै रहेको छ ।”

ऐलानी जग्गा टाठाबाठालाई तर चेपाङलाई खोला किनार-चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले माडीमा चेपाङका नाममा राजनीति गरेर सबै दोष निकुञ्जलाई लगाउने गरिएको बताउनुभयो । “माडीमै सयौँ हेक्टर ऐलानी जग्गा छ । त्यो केही टाठाबाठाले खाएका छन् । अनि गरिब चेपाङलाई लगेर खोलाको छेउमा राख्ने ?”, उहाँले भन्नुभयो, “निकुञ्ज हो भन्ने थाहा छ । यहाँ राख्न पाइन्न भन्ने पनि थाहा छ । खोलाको छेउमा बस्न हुन्न बाढी आउँछ भन्ने पनि थाहा छ । अनि त्यस्तो ठाउँमा जानीजानी जनता लगेर किन राख्ने ?”

चेपाङका नाममा राजनीति हुने गरेकाले चेपाङको समस्या समाधान हुन नसकेको प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । “फेरि बाढीले लैजाला अनि फेरि चेपाङका नाममा राजनीति गर्न पाइएला भन्ने सोच देखियो । जनता भुलाउने मानसिकता देखियो”, उहाँले भन्नुभयो, “हाम्रो विकासको नमूना भनेको बाढी आउने ठाउँमा बस्ती राख्नु हो ? कि वन क्षेत्रको विनाश गर्नु हो ?”

राज्यले निकुञ्जको संरक्षण गर्नका लागि बनाएको ऐनमा टेकेर आफूहरुले काम गरेको बताउँदै उहाँले वनमा ल्याएर बस्ती बसाउन, घर बनाउन कानूनले पनि नदिने बताउनुभयो । बस्ती बसाउने काम निकुञ्जको नभएको भन्दै बरालले यदि चेपाङलाई सुरक्षित स्थानमा राख्न निकुञ्जलाई जिम्मा दिएको भए निकुञ्जले ऐलानी जग्गामा लगेर राख्ने बताउनुभयो । निकुञ्जको काम निकुञ्जभित्र रहेका वन्यजन्तुको संरक्षण गर्नु र मानव वन्यजन्तु न्यूनीकरण गर्नुभएकाले निकुञ्जको जमीनमा बस्ती बस्न नदिइने उहाँको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर