कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउद विगत अढाई दशकदेखि केरा खेती गरिरहनुभएको छ । करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहनुभएका साउदको वार्षिक रु ९० लाख बराबरको कारोबार रहेको छ ।
आफूसित भएको अढाई बिघा खेतसँगै बाँकी तीन÷चार ठाउँमा जमिन भाडामा लिएर केरा खेती गरिरहनुभएका साउदले केराबाट वार्षिक रु पाँचदेखि सात लाख बचत गरिरहेको बताउनुभयो । “सबै खर्च कटाएर रु पाँच÷सात लाख बचत हुन्छ”, उहाँले भन्नुभयो, “कमाईको रकमले छोराछोरी पढाउनेदेखि सम्पत्ति जोड्ने काम भयो ।”
उहाँले तिल्केनी क्षेत्रका करिब डेढ सय किसान केरा खेतीमा संलग्न रहेको बताउनुभयो । प्रतिबिघा रु ५० हजार भाडा तिर्दै आएका साउदले केरा खेतीबाटै जीविका चलेको बताउनुभयो । पछिल्लो समय कृषि ज्ञान केन्द्र र गाउँमा रहेको खप्तड कृषि सहकारी संस्थाको सहयोगमा केरा चिस्यान घर निर्माण भइसकेको छ । “कृषिबाट रु ४९ लाख र बाँकी सहकारीबाट लगानी गरेर चिस्यान घर निर्माण गरेका छौँ”, सहकारीका अध्यक्षसमेत रहनुभएका साउदले भन्नुभयो, “केरा खेतीबाट धेरै स्थानीयवासीलाई ज्याला मजदुरीको काम मिलेको छ ।”
विसं २०५४ देखि केरा खेती गरिरहनुभएका साउदले सहकारीमार्फत भीमदत्त नगरपालिका–९, १० र ३ मा केराखेती र बाख्रापालन लगायतका आयमूलक व्यवसाय सञ्चालन गरिरहेको बताउनुभयो । “भारतीय केरा आयात हुँदा स्थानीय उत्पादन खपतमा समस्या भयो”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादनलाई बजारको समस्या हल गर्न सरोकारवाला निकायले पनि पहल गरिदिनुपर्छ ।”
उहाँले केरा व्यवसायमा नौ जनालाई रोजगारीसमेत दिएको बताउनुभयो । दुई वर्षअघि मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रमअन्तर्गत पनि किसानलाई धेरै सहुलियत मिलेको बताउनुभयो । “मुख्यमन्त्री नमुना कृषि कार्यक्रमले यहाँ थोपा सिँचाइ, ढुवानीका लागि सवारी साधन खरिद, केराका बिरुवा तथा सिँचाइ कार्यक्रममा सहयोग भयो”, उहाँले भन्नुभयो, “यहाँ छुट्टै समिति बनाएर यो कार्यक्रम यहाँका चार वडामा लागू भएको थियो ।”
उहाँले उत्पादित केरा सुदूरपश्चिमका नौवटै जिल्लाका साथै अन्य क्षेत्रमा समेत व्यापारीमार्फत निर्यात हुने गरेको जानकारी दिनुभयो । त्यसैगरी कृष्णपुर नगरपालिका–५ का अर्जुन जेठाराले ११ बिघा जमिनमा केराखेती गरिरहनुभएको छ । विसं २०६४ देखि केराखेतीमा सक्रिय जेठाराले केराबाट वार्षिक रु १० लाख मुनाफा हुने गरेको बताउनुभयो ।
“दुई वर्षयता सुदूरपश्चिममा केराको उत्पादन धेरै हुँदा बजारको समस्या हुने अवस्था छ”, उहाँले भन्नुभयो, “यहाँ उत्पादित केरा खपतका लागि बजार सानो भयो ।” कृष्णपुरमा ३० बिघा जमिनमा विगतमा केरा खेती गरेका जेठाराले जमिन राम्रो नपर्दा घटाएको बताउनुभयो । “केराखेती फेरि बढाउने योजनाअनुसार जमिन भाडामा खोजिरहेको छु”, उहाँले भन्नुभयो, “अहिले १० बिघाप्रति बिघा रु ५५ हजारका दरले भाडामा लिएर खेती गरेको छु ।” कृषि ज्ञान केन्द्रबाट केरा खेतीका बेला बीउबिजनलगायत सामान्य अनुदान पाएको उहाँको भनाइ छ ।
–––