काठमाडौँ, २२ माघ- नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकमको सेवा भरपर्दो र गुणस्तरीय नभएको आलोचना गर्नुभयो । “सेवा प्रदायकका लागि चुनौतीका रूपमा रहेको मैले पाएको छु, विशेषतः सेवा महँगो भयो, सेवाको उपलब्धता छैन भन्ने आम गुनासो रहेका छन् । उपभोक्ताको चाहनाअनुरूप गुणस्तरीय एवं भरपर्दो सेवा उपलब्ध गराउन सेवाप्रदायक विशेषतः नेपाल टेलिकमलाई अनुरोध गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।
टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले नियामक निकाय पनि बल्ल नियामक जस्तो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणका अध्यक्षज्यूले भर्खरै जुन कुरा राख्नुभो त्यो कुरामा राम्रैसँग मनन गर्नुपर्छ, प्राधिकरणका अध्यक्षलाई हामीले बेलाबेलामा भन्ने गर्थ्यौँ, अलिक नियामक जस्तै त होइदिनुस् न । आज चाहिँ नियामकले नियामकै जस्तो भाषण गर्नुभएको छ । त्यो भाषण मात्रै हैन हामीलाई झकझक्याउनु पनि भएको छ हामीले हाम्रा कामलाई कसरी सुधार गर्ने, काममा कसरी तदारुकता देखाउनुपर्ने भनेर राम्ररी व्याख्या गर्नुभएको छ, यो कुरो सबैले बुझेको हुनुपर्छ । सञ्चालक समितिका अध्यक्षको हैसियतले मैले गम्भीरतापूर्वक लिएको छु ।”
टेलिकमको १९औँ वार्षिकोत्सवमा नियामक र सेवा प्रदायकबीचको सवाल जवाफले टेलिकमको सेवा र गुणस्तरीयताको साङ्केतिक झझल्को दिन्थ्यो । तथापि अनेकौँ चुनौती र व्यवधानको सामना गर्दै राष्ट्रको सञ्चार टेलिकमले सेवा विस्तार र राजस्व अभिवृद्धिमा उल्लेखनीय भूमिका खेलेको दुवै वक्ताको कथन थियो ।
सचिव अर्यालले आगामी दिनमा टेलिकमको सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले टेलिकमको सेवालाई सुलभ र सुपथ दरमा देशभर विस्तार गर्न आग्रह गर्नुभयो । गुनासो आउने संयन्त्र र तत्कालै सम्बोधन गर्ने प्रणाली विकास नभए प्रतिस्पर्धी बजारमा ग्राहकको आकर्षण र सेवामा सन्तुष्टि दिन नसकिने भन्दै तत्काल यस्तो प्रणालीको व्यवस्था गर्न अनुरोध गर्नुभयो । सचिव अर्यालले डाटा सेवालाई सहज र सुलभ बनाई बजार हिस्सा अभिवृद्धिमा ध्यान दिनसमेत आग्रह गर्नुभयो ।
टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले दूरसञ्चार सेवालाई अझै बढी सर्वसुलभ तथा गुणस्तरीय बनाउँदै आफ्नो बजार हिस्सालाई मजबुत गर्ने उद्देश्य हासिल गर्न सेवा विस्तार र सेवाको गुणस्तरमा विशेष जोड दिँदै आइरहेको उल्लेख गर्नुभयो । नियामक निकायले दूरसञ्चार सेवा गुणस्तीय हुन नसकेको र ग्राहकबाट बारम्बार गुनासो बढिरहेको भनी आलोचना गरिरहँदा सेवाप्रदायक टेलिकमले सेवालाई नियमित, सरल, सुलभ र गुणस्तरीय बनाउन लागि परेको जनाएको छ ।
प्राधिकरणका अध्यक्ष खनालले सेवा विस्तारसँगै सेवाको भरपर्दोपना, निरन्तरता र गुणस्तरीय बनाउन पनि ध्यान दिन टेलिकमलाई अनुरोध गर्नुभयो । सर्वसुलभ रूपमा सेवा उपलब्ध गराउनुका साथै सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा पूरा गर्ने चुनौती थपिएको उल्लेख गर्दै उहाँले सूचना प्रविधि महामार्ग निर्माणको काम प्रभावकारी अघि बढाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सूचना महामार्ग निर्माणको काममा किन विलम्ब भइरहेको छ, ठेकेदारलाई कारबाही किन गरिएन जवाफ कसले दिन्छ ? डिजिटल नेपालको अवधारणा पूरा गर्न दुई वर्षसम्म कामै नगरी बस्ने छुट कसले दियो ?”
अध्यक्ष खनालले फोरजी सेवा विस्तार हुनु खुसीको कुरा भए पनि यसको गुणस्तरीयताबारे प्रश्न उठेको उल्लेख गर्नुभयो । “रिङरोडभित्र सबै ठाउँमा फोरजी सेवा छ भनेर कम्पनीले भन्न सक्छ । नेटवर्क टिप्दैन । गुणस्तरीय सेवा दिन हामी कता चुकिरहेका छौँ ।”
प्रतिस्पर्धी बजारमा भित्रिएका अत्यधुनिक सूचना प्रविधिको उच्चतम उपभोग गर्दै राष्ट्रको सञ्चार नेपाल टेलिकमले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउने कसरत गरिरहेको छ । उन्नाइस वर्षअघि ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेड’ मा रूपान्तरण भएको नेपाल टेलिकमसामु प्रतिस्पर्धी बजार र विश्वबजारमा विकसित भएका अत्यधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने चुनौती छ ।
नेपाल टेलिकका सञ्चालक समिति सदस्य एवं टेलिकम आधिकारिक ड्रेड युनियनका अध्यक्ष शङ्कर लामिछानेले आधुनिक प्रविधिको प्रयोग गरी समयानुकूल सेवा परिमार्जन र प्रतिस्पर्धी बजारमा खरो रूपमा उत्रनु संस्थाका लागि चुनौती रहेको भन्दै लगानी पहिचान, सेवा विस्तार तथा डेटा बिजनेस बढाउनेतर्फ कम्पनीको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
सेवा प्रवाह र आधुनिक प्रविधिको अभ्यासलाई समयानुकूल परिमार्जनसहित सेवालाई विविधीकरण गर्नुपर्ने चुनौतीको सामना गर्दै कम्पनीले सेवा विस्तार र ग्राहक तथा बजार हिस्सा उकास्न उल्लेखनीय भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ ।
मुलुकमा दूरसञ्चार सेवाको एक सय छ वर्ष लामो इतिहासमा विभिन्न आरोह अवरोह पार गर्दै टेलिकम अहिलेको अवस्थामा आइपुगेको हो । सेवा गुणस्तर तथा ग्राहकको सन्तुष्टिका लागि कम्पनीले अझै मेहनत गर्नुपर्ने नियामक तथा सरोकारवालाले औँल्याउनुभएको छ । आधुनिक पुस्ताको प्रविधि अङ्गालेर नियमित, सरल र सुलभ सेवा उपलब्ध गराउन टेलिकमले आफ्ना अल्पकालीन र दीर्घकालीन योजना कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उहाँहरूको सुझाव छ ।
प्रबन्ध निर्देशक पौडेलका अनुसार कम्पनीले आफ्नो स्थापनाकालदेखि नै विश्वबजारमा उपलब्ध भएका अत्याधुनिक प्रविधि भित्र्याई प्राविधिकरूपले सम्भव भएसम्म देशभर सेवा विस्तार र आर्थिक क्षमताले भ्याएसम्म सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराइरहेको छ ।
उन्नाइस वर्षअघि कम्पनीमा रूपान्तरण हुँदा संस्थाको ग्राहक आधार करिब चार लाख २२ हजार रहेकोमा चालु आवको मङ्सिर मसान्तसम्ममा कम्पनीको ग्राहक आधार दुई करोड १३ लाख नाघिसकेको छ । हाल मुलुकको करिब ७५ प्रतिशत जनसङ्ख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । यसमध्ये कम्पनीको फोरजी एलटिई सेवाका प्रयोगकर्ता एक करोड १५ लाखभन्दा बढी पुगेका छन् ।
–––