काठमाडौं । नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्ममा काम गर्न भनिएका अभिनेता सलोन बस्नेतले प्रोजेक्ट छाडेका छन् । उनले फिल्म छाडेपछि उनको ठाँउमा कमेडियन आदर्श मिश्रा भित्रिएका छन् । अहिले मुम्बइमा बसेर मिश्राले फिल्मको कार्यशाला गरिरहेको बताइएको छ ।
होमप्रोडक्सन फिल्म ‘जय हो’को छायांकनमा ब्यस्त हुनुपर्ने भएपछि बस्नेतले फिल्म छाड्नु परेको हो । बस्नेतको ‘जय हो’ छायांकन फागुन २५ गतेदेखि सुरु हुँदैछ । जय हो मा पनि कलाकार फाइनल भइसकेका छन् । फेब्रुअरी ६ देखि भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट ‘ह्रस्वदीर्घ’ छायांकन सुरु हुने छ ।
नेपालमा भने चैतदेखि छायांकनको तयारी छ । हरिहर अधिकारी र नीता ढुंगानाको प्रमुख भूमिका रहने फिल्मले लामो समय देखी चर्चा पाएको थियो । फिल्ममा भारतिय कलाकारले पनि अभिनय गर्नेछन् । फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्नेछन् । छिल्लोपटक नयाँ कलाकारको रुपमा नरेन खड्का पनि प्रोजेक्टमा जोडिएको जनाइएको छ । फिल्मलाई नेपाली र हिन्दी भाषामा छायांकन गर्ने तयारी छ ।