काठमाडौँ । विश्वकै चर्चित अरबपतीमध्येका एक भारतीय व्यापारी मुकेश अम्बानीका छोरा अनन्त अम्बानीले राधिका मर्चेन्टसँग इन्जेजमेन्ट गरेसँगै यो जोडीको चर्चा अन्तराष्ट्रिय मिडिया तथा समाजिक संजालमा ब्यापक रुपमा भइरहेको छ ।
फोर्ब्स सूचीका अनुसार भारतकै दोस्रो तथा संसारका दसौं धनी मुकेश अम्बानीका कान्छा छोरा अनन्तको व्यापक चर्चा हुनुको पछाडीको कारण हो उनको तौल । २७ वर्षे अनन्तको तौल दुई सय किलोभन्दा धेरै भएका कारण उनको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।
राधिका र उनको इन्गेजमेन्टका भिडिओ बाहिरिएपछि उनी अत्यधिक मोटाएको सार्वजनिक भएको थियो। अनन्तकी हुनेवाला श्रीमती राधिका इनकोर हेल्थकेयरका सिइओ विरेन र शैला मर्चेन्टकी छोरी हुन्। राधिका र अनन्त सानैदेखिका साथी भएको बताइएको छ।
अनन्तको मोटोपनलाई लिएर सामाजिक सञ्जालहरूमा राधिका र अनन्त दुवैलाई नराम्रा टिप्पणी पनि देखिन थालेका छन् । अनन्तकी आमा निता अम्बानीले टाइम्स अफ इन्डियासँग कुराकानी गर्दै छोराको स्वास्थ्य र मोटोपनाले उनको स्वास्थ्यमा समस्या देखिएको रहस्य खोलेकी थिइन् ।
निताका अनुसार अनन्तलाई दमको रोगले बेलाबेलामा सताउने गरेको छ । अनन्तका दाइदिदी आकाश र इशा जुम्ल्याहा हुन्। ऊबेला निता र मुकेशको सन्तान नभएपछि उनीहरूले चिकित्सकको सल्लाहमा आइभिएफ विधि अपनाएर दुई सन्तान जन्मिएको ३ वर्षपछि अनन्तको जन्म भएको समेत निताले उक्त अन्तरवार्तामा उल्लेख गरेकी छिन् ।
अनन्तको तौल निरन्तर बढ्दै गएका कारण १८ महिनासम्म दैनिक ६ घन्टा व्यायाम गरेर उनले १०८ किलो तौल घटाउन सफल भने भएका थिए । प्रेमिका राधिकासँगका केही वर्षअघिका तस्बिरहरूमा पनि उनी त्यति मोटा देखिउका छैनन् । तर पछिल्लो समय उनको वजन फेरि बढेको छ। भिडिओहरूमा हेर्दा उनलाई हिँड्न समेत मुश्किल भइरहेको देखिन्छ। कान्छा छोराको बिहेको तयारी भइरहेका बेला उनको शरीरको तौल अस्वभाविक रुपमा बढ्दा अम्बानी परिवार यतिबेला चिन्तित बनेको छ ।