बलिउडको ज्यूँदो ईतिहास अब ढलेको छ । ५ दशक भन्दा लामो समय सम्म बलिउडमा योगदान दिएका दिग्गज कलाकार दिलीप कुमारको ९८ बर्षको उमेरमा निधन भएको हो । उनको निधनको खबर उनकै ट्विटर अकाउण्ट बाट दिइएको थियो ।
ट्विटरमा लेखिएको थियो– भारी मन तथा गहिरो दुःखका साथ, हाम्रो प्यारो दिलीप साहेबको निधनको घोषणा गर्दछु । दिलीप कुमारको शव अस्पताल बाट घर लगिएको छ । उनको सान्ताक्रुज मुम्बई स्थित जुहु कबरस्थानमा आज साँझ ५ बजे अन्तिम संस्कार गरिने छ ।
बलिउडका अर्का दिग्गज कलाकार तथा महानायक अमिताभ बच्चनले पनि ट्विट गर्दै दुःख ब्यक्त गरेका छन् । उनले लेखेका छन्– एक संस्था छोडेर गयो….भारतीय सिनेमाको ईतिहास जहिले लेखिन्छ, सधै दिलीपकुमार भन्दा पहिला तथा दिलीपकुमार भन्दा पछि लेखीनेछ । मेरो प्रार्थना छ कि उनको आत्माले शान्ति पाओस्। परिवारको यो दुःख हने शक्ति प्राप्त होस् । एकदमै दुःख लागेको छ ।
उनको निधनको खबर संगै सबै बलिउडकर्मीहरु उनको निवासमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुगेका छन् । दिलीप कुमारलाई फिल्म जगतको ट्राजिटी किंगको रुपमा लिईने गरीएको थियो । ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर शहरमा जन्मनु भएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो ।
आफ्नो ५० बर्षको फिल्मी करियरमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनको चर्चित सिनेमाहरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर लगायत रहेका छन् ।