करोडपति हीरा व्यापारीकी ८ वर्षकी छोरी भिक्षुणी बनेपछि... — OSNepal

करोडपति हीरा व्यापारीकी ८ वर्षकी छोरी भिक्षुणी बनेपछि…

LC (KTM) January 26, 2023 0

आठ वर्षकी देवांशी संघवीले भविष्यमा अर्बौँको हीरा व्यवसाय सम्हाल्न सक्थिन्। तर एक धनाढ्य हिरा व्यवसायीकी छोरी उनले हाल कठिन जीवन व्यतीत गरिरहेकी छिन्।

खस्रो सेतो फरिया लगाएर उनी खाली खुट्टा अरूको घर घरमा पुगेर भिक्षा मागिरहेकी छन्। गत साता धनेश र अमी संघवीका दुईमध्ये ती जेठी छोरीले भिक्षुणी बन्ने निर्णय गरेकी हुन्।

संघवीहरूको जनसङ्ख्या झन्डै ४५ लाख छ र उनीहरू विशेषगरी जैन धर्म मान्छन्। यो भारतमा २,५०० वर्षभन्दा पहिलेदेखि नै स्थापित एक धर्म हो।

धर्मबारे अध्ययन गरेकाहरूका अनुसार सांसारिक मोहको त्याग गर्ने जैन धर्मावलम्बीहरूको सङ्ख्या पछिल्ला वर्षहरूमा बढ्दो क्रममा छ। तर देवांशीले जस्तो बाल्यकालमै त्यस्तो पथ रोज्नु भने असामान्य हो।गत बुधवार उनले गुजरातको सुरत सहरमा जैन भिक्षुभिक्षुणी र अन्य हजारौँ उपस्थित एक समारोहकाबीच दिक्षा लिएर त्यागको प्रण गरेकी थिइन्।

आफ्ना अभिभावकसँग उनी रत्नको आभूषण र रेशमले बनेको पोसाक लगाएर समारोहस्थलमा आइपुगेकी थिइन्। उनको टाउकोमा हीरा जडित ताज थियो। धार्मिक कार्यक्रम पश्चात् उनी अन्य भिक्षु भिक्षुणीसँगै उभिइन्। सेतो फरियाको सप्कोले मुन्डन गरिएको उनको टाउको पनि छोपेको थियो।

तस्बिरहरूमा उनले कुचो समातेको देख्न सकिन्छ जुन उनले आफू हिँड्दा किरा कमिला झुक्किएर कुल्चिनु नपरोस् भनेर बढारेर पन्छाउनका निम्ति बोक्ने छिन्।

‘उनका अभिभावक अभिभावक रहेनन्’ त्यसयता देवांशी अन्य जैन भिक्षुभिक्षुणीहरू बस्दै आएको उपाश्रय भनिने एउटा आश्रममा बस्दै आएकी छन्।

“उनी अब आफ्नो घरमा बस्न पाउँदिनन्, उनका अभिभावक अब उनका अभिभावक रहेनन्। अब उनी एक साध्वी हुन,” देवांशीको परिवारसँग मित्रवत् सम्बन्ध रहेका सुरतस्थित एक हीरा व्यापारी कीर्ति शाहले भने।

उनी भारतीय जनता पार्टीकी स्थानीय नेता पनि हुन्।”एउटी जैन भिक्षुणीको जीवन साँच्चै कठिन हुन्छ। उनले अब जहाँ जाँदा पनि हिँड्नुपर्नेछ, कुनै पनि प्रकारको यातायातका साधन चढ्न पाउँदिनन्। उनी भुईँमा सेतो तन्ना विछ्याएर सुत्नेछिन् र सूर्यास्तपछि उनले खाना खान पाँउदिनन्,” उनले थपे।

संघवीहरू जैन धर्मको त्यस्तो सम्प्रदायका सदस्य हुन् जस्ले बालबालिकालाई पनि भिक्षुका रूपमा स्वीकार्ने गर्छन्।देवांशीका अभिभावक “अत्यन्त धार्मिक” भनेर चिनिन्छन्।

भारतीय सञ्चारमाध्यमहरूले उक्त परिवारका साथीभाइलाई उद्धृत गर्दै ती बालिकाको “सानो छँदा देखिनै आध्यात्मिक जीवनतर्फ झुकाव रहेको” उल्लेख गरेका छन्।

“देवांशीले कहिल्यै टेलिभिजन वा चलचित्र हेरेकी छैनन्। उनी मल वा रेस्टुरेन्ट गएकी छैनन्,” द टाइम्स अफ इन्डियाले लेखेको छ।“सानैदेखि देवांशीले दिनमा तीन पटक प्रार्थना गर्दै आएकी छिन् र दुई वर्षको हुँदा नै उनी व्रत बसेकी थिइन्,’’ उक्त पत्रिकाले उल्लेख गरेको छ।

सन्यास ग्रहण समारोहको अघिल्लो दिन उनको परिवारले सुरतमा रङ्गीचङ्गी झाँकीसहितको एक विशाल यात्राको आयोजना गरेको थियो।ऊँट, घोडा, गोरुगाडा अनि बाजागाजा सहभागी त्यो यात्रा हजारौँले हेरेका थिए। देवांशी र उनको परिवार हात्तीले तानेको रथमा बसेका थिए भने भीडले उनीहरूमाथि गुलाबको फूल वर्षाँउदै स्वागत गरेका थिए।

भारत र युरोपमा समेत उत्सव
त्यस्तै समारोह मुम्बइ र बेल्जियमको एन्टवर्प सहरमा पनि आयोजना गरिएको थियो जहाँ संघवीहरूको व्यापार व्यवसाय छ।यस अभ्यासको लागि जैन समुदाय भित्रबाट समर्थन भए पनि देवांशीको त्यागले भने एउटा बहस सुरु गरिदिएको छ।

उनको तर्फबाट यस्तो महत्त्वपूर्ण निर्णय गर्नुअघि परिवारले उनी वयस्क हुँदासम्म किन पर्खन सकेन भनेर धेरैले प्रश्न गरेका छन्।

दीक्षा समारोहमा सहभागी हुनका लागि निम्ता गरिएका शाह बालबालिकाले परिवार त्याग गर्ने विचारले आफूलाई असहज बनाएको बताँउदै कार्यक्रमबाट टाढै रहे। उनको विचारमा “कुनै पनि धर्मले बालबालिकालाई भिक्षु बन्न दिनु हुँदैन।”“ उनी बच्ची नै छिन्। उनले यो सब कुराबारे के बुझेकी हुन्छिन् र?” उनले प्रश्न गरे।

बाल अधिकार
सानो उमेरकी बालिकालाई परिवारबाट बिछोड गराइएकामा अन्य धेरै समुदायका सदस्यहरूले पनि असहज महसुस गरेको बताएका छन्।

यो विषयबारे समाचारहरू प्रकाशित भएसँगै कैयौँले सामाजिक सञ्जालमा बाल अधिकारको उल्लङ्घन भएको आरोप लगाउँदै परिवारको आलोचना गरेका छन्।शाह बालबालिकालाई सन्यास ग्रहण गर्न लगाइने प्रथा रोक्न सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउँछन्।

तर त्यस्तो हुने सम्भावना धेरै छैन। घटनाबारे सरकारले के गर्ने विचार गर्दैछ भन्ने बारेमा थप जानकारी लिन मैले न्याशनल कमिसन फर प्रोटेक्सन अफ चाइल्ड राइट्सका प्रमुख प्रियाङ्क कानुन्गोको कार्यालयमा सम्पर्क गरेकी थिएँ। तर यो “संवेदनशील विषय” रहेको बताँउदै उनले यसबारे टिप्पणी गर्न नचाहेको जानकारी उनको कार्यालयले गरायो। बीबीसी न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर