निरन्तर वर्षासँगै आएको बाढीपहिरोले व्यासका ५५ घरमा क्षति — OSNepal

निरन्तर वर्षासँगै आएको बाढीपहिरोले व्यासका ५५ घरमा क्षति

LC (KTM) July 07, 2021 0

दमौली, २३ असार- केही दिन अगाडि आएको वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पु¥याएको छ । निरन्तरको वर्षासँगै आएको बाढीपहिराले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको हो । वर्षाले कयौँ वस्तुभाउ, कुला, बाटाहरू क्षतिग्रस्त भएका छन् भने बुद्धसिंमार्गअन्तर्गत छाब्दीखोलामा पुल भत्किएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै व्यास–९ माझफाँटमा खोलाले बगाएर ७३ वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका छन् ।

नगरपालिकाले वर्षापीडित परिवारलाई राहत दिने निर्णय गरेको छ । साथै अवरुद्ध बाटाहरु खुलाउने, अन्य तत्काल मर्मतसम्भार गर्न सकिने कुला मर्मत गरिने भएको छ भने छाब्दीखोलाको बुद्धसिंमार्गमा पुलको वैकल्पिक व्यवस्था मिलाउने निर्णयसमेत भएको श्रेष्ठले बताउनुभयो ।

तीन कार्यविधि पारित – नगरपालिकाले तीनवटा कार्यविधि पारित गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा मङ्गलबार बसेको कार्यपालिकाको बैठकले व्यास नगरपालिका स्थानीय राजश्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि–२०७८, व्यास नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसञ्चालन कार्यविधि–२०७८ र व्यास नगरपालिकाको अनुगमन तथा सुपरीवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि पारित भएको छ ।

बैठकले नगरपालिकामा हाल खरिद गरिएको दुई थान ठूलो ट्र्याक्टरलाई धान उत्पादनको पकेट क्षेत्रलाई सहयोग पुग्ने गरी सम्बन्धित वडाहरुको अनुगमनमा किसानलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । साथै विद्यालय व्यवस्थापन समितिको तदर्थ समितिमा सम्बन्धित विद्यालयको निवर्तमान अध्यक्षलाई अनिवार्य आमन्त्रित सदस्यका रूपमा राख्ने निर्णयसमेत भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर