छोरा पढाउन सहर पसेर पानीपुरीको व्यापार,मासिक २५ हजार बचत — OSNepal

छोरा पढाउन सहर पसेर पानीपुरीको व्यापार,मासिक २५ हजार बचत

LC (KTM) January 24, 2023 0

भजनी-हरेक आमाबाबुको इच्छा हुन्छ सन्तानलाई कम्तीमा राम्रो शिक्षा दिन सकौँ । यसका लागि पायकमै राम्रो विद्यालय होस् भन्ने चाहना पनि हुन्छ । तर सबैले भने जस्तो हुँदैन । गुणस्तरीय शिक्षाका लागि टाढासम्म जानुपर्ने बाध्यता अझै पनि छ । अभिभावकहरु राम्रा विद्यालयको खोजीमा सहर पस्न बाध्य भइरहेको घटना नौला होइनन् । त्यसैमध्येकी एक हुनुहुन्छ, कालीकोट पचाल झरना गाउँपालिका-५ कि दुर्गा बुढा ।

बुढाका तीन जना छोरा छन् । गाउँमा भने जस्तो विद्यालय नभएपछि उहाँ यतिबेला कैलालीको टीकापुर झर्नुभएको छ । उहाँले कालीकोटको घर, जग्गा र व्यापार सबै छोडेर सहर झर्नुभएको हो । गाउँमा छँदा चिया पसल, खेतीपाती, दुई भैँसी, एक घोडा र बाह्र खच्चर एक्लैले सम्हाल्नुभएकी उहाँले त्यो बेलामा मासिक रू ३० देखि ४० हजारसम्म कमाउनुहुन्थ्यो ।

“गाउँमा कमाइ राम्रो भए पनि विद्यालय भने जस्तो नभएपछि छोरालाई लिएर टीकापुर पठाएकी थिएँ”, उहाँले भन्नुभयो, “यहाँ बस्दा पढाइ र होस्टेलका लागि मासिक २० देखि २५ हजारसम्म खर्च हुने गरेको थियो ।” तर छोराहरुले होस्टेलको खानामा गुनासो गरेपछि आफै टीकापुर आएको उहाँले सुनाउनुभयो ।

“टीकापुर आएपछि कमाउने आधारहरू सबै सकिए । गाउँको चिया पसल गुम्यो । खेतबारी पनि उजाड बन्यो । निकै मिहेनतले बनाएको घर अलपत्र प¥यो भने आम्दानीका सबै स्रोत पनि सुके”, उहाँले भन्नुभयो ।

नयाँ आम्दानीको स्रोतका लागि उहाँले पानीपुरी र चटपटेको व्यापार सुरु गर्नुभयो । जेठो छोरा एसइई उत्तीर्ण गरी अहिले काठमाडौँमा कक्षा ११ मा पढिरहेको छ । दुई छोरा टीकापुरमै एउटा ७ मा र अर्को ५ मा अध्ययन गरिरहेका छन् । बाख्रा बेचेको पैसाबाट एउटा ठेला किनेर पानी पुरी र चटपटेको व्यापार सुरु गर्नुभएकी दुर्गालाई अहिले पहिलेको जस्तो चिन्ता भने छैन ।

“दैनिक एक हजारको हाराहारीमा कमाइ हुन्छ । महिनामा २५ हजारसम्म बचत हुन्छ”, दुर्गा भन्नुहुन्छ, “काठमाडौँ छोरालाई मासिक १२ देखि १५ हजार पठाउनुपर्छ । त्यस्तै मेरो कमाइले परिवार पालिएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर