आममाफीको उपयोग गर्दै अस्ट्रेलियालीले साढे सत्र हजार बन्दुक बुझाए — OSNepal

आममाफीको उपयोग गर्दै अस्ट्रेलियालीले साढे सत्र हजार बन्दुक बुझाए

LC (KTM) January 21, 2023 0

क्यानबेरा-अस्ट्रेलियाको सङ्घीय सरकारले दर्ता नगरिएका वा गैरकानुनीरूपमा हासिल गरिएका हतियार सरकारलाई बुझाएमा कारबाही नगर्ने घोषणा गरेपछि १७ हजार पाँच सय ४३ थान हतियार राज्यसरकारलाई प्राप्त भएको छ ।

सङ्घीय सरकारले शनिबार आममाफी कार्यक्रममा पहिलो वार्षिक प्रतिवेदन जारी गर्दै ती हतियार नागरिकले सरकारलाई बुझाएका बताएको हो । नरसंहारका घटना रोक्ने तथा नागरिक सुरक्षालाई सुदृढ तुल्याउने उद्देश्यले सन् २०२१ को मध्यमा आममाफीको घोषणा गरिएको थियो । बितेका एक वर्षमा ती हतियार सरकारलाई बुझाइएको प्रतिवेदनमा जनाइएको छ ।

आपराधिक गुप्तचर आयोगका अनुसार अस्ट्रेलियामा करिब दुई लाख ६० हजार अवैध हतियार छन् । जुलाई २०२१ देखि जुन २०२२ सम्म हस्तान्तरण गरिएका हतियारमध्ये आठ हजार एक सय ४० थान राइफल, दुई हजार आठ सय ९६ थान बन्दुक र सात सय ८९ थान पेस्तोल छन् ।

यसैबीच, अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसले समुदायमा फैलिने हतियार त्रास घटाउन तथा आफ्ना नागरिकलाई सुरक्षित राख्न हतियार हस्तान्तरणको योजना प्रभावकारी भएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर