अमेरिकाबाट पहिलो एनिर्भसरी मनाउन पोखरा आएका राजनले पत्निलाई त भेटे, तर... — OSNepal

अमेरिकाबाट पहिलो एनिर्भसरी मनाउन पोखरा आएका राजनले पत्निलाई त भेटे, तर…

LC (KTM) January 16, 2023 0

गण्डकी पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गर्नुभएका राजन ।

अमेरिकाबाट शनिबार काठमाडौँ झर्नुभएका सापकोटालाई लिन उहाँकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुग्नुभएको थियो । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पत्ति यति एयरलायन्सको जहाज चढी पोखरा आउँदै हुनुहुन्थ्यो । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पत्ति नै दुर्घटनामा पर्नुभयो ।

सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो । बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस बन्नुभएको छ । उहाँका छरछिमेक सबैका आँखा रसाएका छन् ।

डिभी परेर दुई वर्षअघि मात्र अमेरिका जानुभएका सापकोटा गर्त वर्ष बिहे गर्नका लागि पोखरा आउनुभएको थियो । गत वर्ष माघको १९ गते विवाह गर्नुभएका सापकोटा पुनःअमेरिका फर्की शनिबार मात्रै नेपाल आउनुभएको हो । उहाँका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट एवं बिहेको एक वर्षपछिको उत्सव(ज्युँती मेटेर) मनाएर फर्कने गरी राजन आउनुभएको हो ।

“दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ”, उहाँले भन्नुभयो । उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् । सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उहाँकी श्रीमती भगवती पनि उक्त विमानमा सँगै दुर्घटनामा पर्नुभएको छ । घरायसी कामकाजको सिलसिलामा काठमाडौँ जानुभएका कुँवर दम्पत्तिले छोराछोरीलाई भने शनिबार बसमा पोखरा पठाउनुभएको थियो । जहाज दुर्घटनामा हेमाजाकै चार÷चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ । –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर