सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले अवरुद्ध गरेको राजमार्ग खुला — OSNepal

सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले अवरुद्ध गरेको राजमार्ग खुला

LC (KTM) July 05, 2021 0

चितवन, २१ असार – राप्ती नगरपालिकामा स्थानीयवासीले गरेको पूर्वपश्चिम राजमार्गको अवरोध खुला भएको छ । जिल्लाको राप्ती नगरपालिका– ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले निष्पक्ष छानविनको माग गर्र्दै राजमार्ग अवरुद्ध गरेका थिए ।

बिहान १०ः१५ बजेदेखि अवरुद्ध सडक साँझ ६ः०० बजे खुलेको हो । स्थानीयवासीले शव ल्याउँदै गरेको एम्बुलेन्ससहित रोकेर राखेका थिए । नगरपालिकाका प्रमुख प्रभा बरालका अनुसार जनप्रतिनिधि, दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको उपस्थितिमा पीडित पक्षसँग सहमति गरी बाटो खुलाइएको छ । शव परीक्षण गरी सत्यतथ्य पत्ता लगाइ अपराधीलाई कडाभन्दा कडा कारवाही गर्ने, पोष्टमार्टम गर्दा परिवारका दुई जना, एक जना परिवारले भनेका विज्ञसहित गर्ने र नेपाल सरकारसँग राहतका लागि अनुरोध गर्ने सहमति भएको बरालले जानकारी दिनुभयो ।

आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा भण्डारीको शव फेला परेको थियो । उनी यही असार ११ गतेदेखि हराइरहेकी थिइन् । बिहान ६ः०० बजे घरबाट हिँडेकी भण्डारी सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ः०० बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेकोे छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर