शे फोक्सुण्डो गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाउँदै — OSNepal

शे फोक्सुण्डो गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाउँदै

LC (KTM) January 13, 2023 0

जाजरकोट -डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ । एसइई र कक्षा १२ साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका व्यक्तिलाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिकाको कोषबाट छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाइने भएको हो ।

निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब, दलित, द्वन्द्वपीडित, आदिवासी, जनजाति, सीमान्तकृतलगायतका लक्षित वर्गलाई माथि उठाउन छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिनुभयो ।

पन्ध्रदिने सूचना खोलेर आवेदन खोलिएकाले उत्तीर्ण गरेको तहमा ल्याएको अङ्क तथा ग्रेडका आधारमा छात्रवृत्तिका लागि छनोट गरिने शर्माले बताउनुभयो । गाउँपालिकाको कार्यविधिअनुसार राम्रो ग्रेड ल्याएका २७ जनालाई मात्र छात्रवृत्तिका लागि छनोट गरिने उहाँको भनाइ छ ।

प्रथम र दोस्रोपत्रको तयारी गरुन्जेल लाग्ने खर्च सबै गाउँपालिकाले व्यहोर्ने बताइएको छ । गाउँपालिकाले अघिल्लोपटक पनि छात्रवृत्ति दिएर लक्षित वर्गलाई लोकसेवा तयारी कक्षा पढाएको थियो । दुर्गमबाट पनि निजामती सेवामा प्रवेश गर्ने मौकासँगै आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीका लागि सुनौलो अवसरसमेत भएको गाउँपालिकाले जनाएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर