स्वीकारोक्ति: म सधैँ ढिलो भैरहने मान्छे हुँ। कम्तीमा म सुध्रिने प्रयासमा छु। वास्तवमा मैले बारम्बार र लाजमर्दो रूपमा यो लेख सिध्याएर बुझाउनका लागि दिइएको समयसीमा पनि कटाएँ।
म यसलाई ‘पत्रकारिताकै एक अभ्यासको रूप हो’ भनेर बहाना बनाउन पाए हुन्थ्यो भन्ने चाहन्छु। तर कुरा त्यसो होइन।मलाई थाहा छ- यस्तो ढिलो गर्ने म एक्लो व्यक्ति होइन।
हाम्रा वरपर ढिलो भैरहने धेरैथरीका मानिसहरूका बारेमा हामी सबैलाई थाहा नै छ: कोही कामकाजी दम्पत्तीका बच्चा हेरिदने मानिस हुन्छन् जो सधैँ काममा ढिलो आउने हुन सक्छन्।
अर्का त्यस्ता सहकर्मी हुन सक्छन् जसले सधैँ उनलाई दिइएको काम समाप्त गर्ने समयसीमाभित्र कहिल्यै काम पूरा गर्दैनन्।अनि, तपाईँका कोही त्यस्ता साथी पनि हुनसक्छन् जस्लाई सँगै खाना खानको लागि कतै बोलाउनु पर्यो भने निश्चित समयभन्दा ३० मिनेट अगाडिको समय दिएर बोलाउनु पर्ने हुन्छ।
कसैको अरूलाई पर्खाउने जुन बानी हुन्छ त्यो जस्तो रिस उठाउने व्यवहार अरू थोरै मात्र छन्।तर कसैले तपाईँलाई पर्खाइरहेको बेला तपाईँको मनमा जस्तो सुकै धारण बनेको भएपनि त्यसको अर्थ के होइन भने तपाईँका साथी वा तपाईँका सहयोगी स्वार्थी छन्।
ढिलोपनको मनोविज्ञानमाथि विचार गरी हेर्दा त्यो मानिसको मष्तिष्कले कुनै हदसम्म सही ढङ्गले कार्य नगर्दा उत्पन्न हुन गएको नतिजा जस्तो देखिनसक्छ। ढिलो गर्ने मानिसहरू अशिष्ट र अल्छी होइनन्कारण भ्रमपूर्ण हुँदाहुँदै पनि ढिलो गर्ने व्यक्तिप्रतिको धारणा प्राय: सधैँ नकारात्मक हुन्छ।
“उनीहरूलाई अव्यवस्थित, असङ्गठित, अशिष्ट र अरूका लागि विचार नगर्ने मानिसका रूपमा बुझ्न सजिलो छ,” संज्ञानात्मक (कग्नेटिभ) व्यवहारसम्बन्धी चिकित्सक तथा लन्डनमा चिकत्सकीय मनोविज्ञानको तालिम लिएका ह्यारिएट मेलोट, भन्छन्।
“मेरो क्लिनिकमा आउनेहरू बाहेक अरू कोही ढिलो हुँदा म पनि रिसाउँछु।”तर धेरै ढिलो गर्ने मानिसहरू कम्तीमा पनि केही हदसम्म व्यवस्थित हुन्छन् र साथीहरू, परिवार र मालिकलाई खुसी पार्न चाहन्छन्।समयको पालना गर्न असमर्थ हुने मानिसहरूले प्रायः यो कुरा बुझ्छन् र ढिलो हुँदा आफ्नो सम्बन्ध, प्रतिष्ठा, करिअर र पैसामा कति नोक्सानी हुनसक्छ भनेर उनीहरूलाई धेरै पीडा र अप्ठ्यारो महसुस हुन्छ।
‘नेभर बी लेट अगेन’ पुस्तकमा डायना डेलोन्जोरले लेखेकी छिन्, “केही व्यक्तिहरू छन् जसले अरूलाई पर्खाउन पाउँदा आनन्द लिन्छन्। यदि तपाईँ सामान्य हुनुहुन्छ भने, तपाईँले ढिलो हुने कुरालाई घृणा गर्नुहुन्छ। आलस्य तपाईँको श्राप हो।”
कोही किन ढिलो हुन्छन्
बहानै बहाना
विशेषगरी एकदमै धेरै ढिलो हुँदा प्रस्तुत गरिने खासगरी केही कारण वा बहानाहरूलाई संसारभरि सहजै स्वीकार गरिन्छ। त्यस्ता कारणमा आफ्नो स्वास्थ्य खराब भएको वा आफू दुर्घटनामा परेको जस्ता उदाहरणहरू पर्छन्।तर अन्य केही बहानालाई सहज रूपमा लिएर स्वीकार्न त्यति सजिलो छैन।
ढिलो गर्ने कतिपय व्यक्तिहरू समयमै उपस्थित हुन नसक्नुलाई समयको ख्याल गर्ने बानी भन्दा महत्त्वपूर्ण कुराहरूमा ध्यान दिने र गहन विचार गर्ने आफ्नो बानी भएको बताउँदै त्यसबाट बच्न खोज्छन्।
त्यस्ता मानिसहरू सधैँ ढिलो हुने बानीलाई आफूले धेरै दबाबमा उत्कृष्ट काम गर्न सक्ने वा बिहान सबेरै उठ्नुको साटो लाटोकोसेरो जस्तै राति अबेरसम्म बसेर काम गर्न सक्ने बानी छ भनेर टार्छन्।
लन्डनकी एकजना शिक्षिका जोआना भन्छिन् कहिलेकहीँ सोचाइमा भिन्नताका कारण ढिलो हुने उनको छवि बनेको हुनसक्छ। उनी आफ्नो थर बताउँन चाहन्नन्।
उनी भन्छिन्, “एकजना साथीले भेट्न बोलाए र ‘सात बजेपछि जुनसुकै बेला आउँदा हुन्छ’ भने तर म आठबजे वा त्यसपछि गएँ भने उनी रिसाउँछन्।” सधैँ ढिलो हुनु तपाईँको गल्ती नहुन सक्छ। तपाईँको व्यक्तित्व त्यस्तैखाले हुन पनि सक्छ। विशेषज्ञहरू भन्छन्- समयनिष्ठ भावनाको कमी भएका व्यक्तिमा प्रायः समान खाले व्यक्तित्वसम्बन्धी लक्षणहरू हुन्छन्।त्यस्ता लक्षणमा आशावादी, आफैँलाई नियन्त्रण गर्ने क्षमतामा कमी र चिन्ता वा रोमाञ्चकताको खोजीलगायत पर्छन्।
व्यक्तित्वमा देखिने भिन्नताले हामी कसरी समय बित्दै गएको अनुभव गर्छौं भनेर पनि व्याख्या गर्न सक्छौँ।सान डिएगो स्टेट युनिभर्सिटीमा मनोविज्ञानका प्राध्यापक जेफ कोन्टीले सन् २००१ मा एउटा अध्ययन गरे।त्यसमा उनले सहभागीलाई टाइप ए (महत्वाकांक्षी र प्रतिस्पर्धी) टाइप बी (सृजनात्मक, प्रतिबिम्ब प्रस्तुत गर्ने र अन्वेषण रूचाउने) गरी दुई समूहमा विभाजन गरे।
उनले उनीहरूलाई घडीविना नै एक मिनेट बित्न कति समय लाग्छ भनेर बताउन भने।करिब ५८ सेकेन्ड बित्दा समूह ए का मानिसहरूले एक मिनेट बितेको महसुस गरे।समूह बी का सहभागीहरूले ७७ सेकेन्डपछि मात्र एक मिनेट बितिसकेको महसुस गरे। बिबिसी