टेलिकमले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने — OSNepal

टेलिकमले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने

LC (KTM) January 12, 2023 0

काठमाडौँ-नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८÷७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न पन्ध्रौँ वार्षिक साधारणसभाले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । उक्त सभाले आर्थिक वर्ष २०७८÷०७९ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८÷०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव २०७९÷८० का लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट महेशकुमार गुरागाईं र पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिकसमेत तोकेको छ ।

सोही अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै कोभिड–१९ को महामारी तथा त्यसको प्रभाव र असरकाबीच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०७८÷७९ मा आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कूल रु ४४ अर्ब ३७ करोड राजस्व आम्दानी गरी रु आठ अर्ब ४७ करोड खुद नाफा गर्न सफल भएको छ । यो नाफा गत वर्षकोभन्दा रु एक अर्ब ३५ करोडले बढी हो, यसै आवमा कम्पनीले कर तथा शुल्कबापत आफ्नो कूल आयको ५९.५२ प्रतिशत अर्थात् रु २६ अर्ब ४१ करोड राजस्वका रुपमा नेपाल सरकारलाई बुझाएको छ ।”

अध्यक्ष अर्यालले प्रत्येक नागरिक, उद्योग व्यवसाय तथा सरकारी क्षेत्रका लागि आधारभूत आवश्यकताका रुपमा स्थापित हुँदै गरेको सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीइ प्रविधिमा आधारित भोल्टे सेवा तथा एफटिटिएच सेवा विस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणमा तीव्रता दिएकाले २०७९ असारसम्ममा देशका ७३५ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएको उल्लेख गर्नुभयो । साधारणसभाले पारित गरेको लाभांश रकम एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर