सागकी स्वर्ण विजेता सन्तोषीलाई कखराको सम्मान — OSNepal

सागकी स्वर्ण विजेता सन्तोषीलाई कखराको सम्मान

LC (KTM) January 07, 2023 0

काठमाडौं, २३ पुस ;कखरा प्रि–स्कूलले १३औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण विजेता धाविका सन्तोषी श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ । नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएबापत कखराले वार्षिक खेलकुद दिवसको अवसरमा सन्तोषीलाई सम्मान गरेको हो । धादिङकी सन्तोषीले नेपालमै सम्पन्न १३औं सागको एथलेटिक्सतर्फ महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् ।

कखराले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा यसअघि सागका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर तथा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीलाई सम्मान गरेको थियो ।

कखराका प्रबन्ध संचालक उमानाथ निरौला र कखराकी प्रिन्सिपल निशा घिमिरेले सन्तोषीलाई नगद, प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे । सम्मानित सन्तोषीले कखराद्धारा आयोजित खेलकुद प्रतियोगितहरुमा सहभागी बालबालिकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् ।

कखराकी प्रिन्सिपल निशा घिमिरेले खेलकुदको माध्यमबाट श्रेष्ठले आर्जन गरेको नाम, ईमान र प्रसिद्धिले कलिला बालबालिकाहरुलाई पनि खेलकुदको महत्व बुझ्न र खेलकुद प्रतिभा विकसित गर्नमा ठूलो हौसला पुग्ने विश्वास व्यक्त गरिन् ।

कखराका प्रबन्ध संचालक उमानाथ निरौलाले बालबालिकामा कुनै न कुनै खेलकुद प्रतिको रुची र प्रतिभा ७ वर्ष उमेर पूरा हुनु अघिनै विकसित हुने भएकाले कखराले बालबालिकाको रुची र प्रतिभालाई समयमै पहिचान गरी सोही अनुसार विभिन्न खेलकुद क्रियाकलापहरुमा सहभागी गराउने गरेको जानकारी दिए । कखराका अभिभावक, शिक्षक, शिक्षिका र कर्मचारीलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा बालबालिकाहरुले रोमाञ्चक खेलहरु प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर